प्रहार समाचार । तनहुँ, १२ भदौ २०८३ शुक्रबार । काठमाडौं । तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको सूचना प्राप्त भएपछि नुवाकोटमा प्रहरीले उच्च सतर्कता अपनाउँदै नदी आसपासका बस्तीमा माइकिङ सुरु गरेको छ । प्रहरीले सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी किनारमा रहेका सर्वसाधारणलाई तत्काल सुरक्षित तथा अग्लो स्थानमा जान आग्रह गरेको हो ।

नुवाकोटको विदुर क्षेत्रमा प्रहरीले माइकिङ गर्दै रसुवातर्फबाट पुनः बाढी आउन सक्ने सूचना प्राप्त भएको जनाएको छ । “फेरि बाढी आएको सूचना आएको छ । नदीनजिक नजानुहोला, अग्लो सुरक्षित स्थानतर्फ बस्नुहोला,” प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ ।नेपाल प्रहरीले तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको भन्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी र सर्वसाधारणलाई समेत तत्काल सतर्क रहन आग्रह गरेको छ ।
प्रहरीले जोखिमयुक्त नदी तथा खोलाको आसपास नजान र सम्भावित बाढीबाट जोगिन सुरक्षित स्थानतर्फ जान तथा अन्यलाई समेत सुरक्षित स्थानमा जान जानकारी गराउन अनुरोध गरेको छ । यसअघि भदौ १० गते भोटेकोसी नदीमा अचानक आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति गरेको थियो । उक्त घटनापछि नदीको जलस्तर र सम्भावित बाढीको जोखिमलाई लिएर स्थानीय प्रशासन तथा सुरक्षा निकायले निरन्तर निगरानी गरिरहेका बेला पुनः ड्याम फुटेको सूचना आएपछि नुवाकोटमा थप सतर्कता अपनाइएको हो ।
















