प्रहार समाचार । रसुवा, १२ भदौ २०८३ बिहीबार । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण अप्पर त्रिशूली हाइड्रोपावरको टनेलभित्र फसेका ३ सय ५० मजदुर तथा स्थानीयसहित रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले ८ सय ८३ जनाको उद्धार गरेको छ । प्रतिकूल मौसम, तीव्र बाढीको बहाव र अत्यन्त जोखिमपूर्ण अवस्थाबीच सेनाले सञ्चालन गरेको उद्धार अभियानबाट ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो ।

अप्पर त्रिशूली हाइड्रोपावरको टनेलभित्र मानिसहरू फसेको खबरपछि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशूली) बाट जमदार भक्तजन बस्नेतको कमान्डमा खटिएको १/३ को सैन्य टोलीले जोखिम मोलेर उद्धार सुरु गरेको थियो । टोलीले केही बेरअघि टनेलभित्र फसेका ३५० जनालाई सुरक्षित रूपमा बाहिर निकालेको हो । टनेलमै अझै १०० जनाभन्दा बढी मानिस फसेको बताइएको छ र उनीहरूको उद्धारका लागि सेनाको टोली निरन्तर परिचालित छ ।

यसैबीच, बाढीको उच्च जोखिममा रहेका रसुवाका विकट क्षेत्रमा पनि नेपाली सेनाले उद्धार अभियानलाई तीव्रता दिएको छ । सीक्यूआरटी धुन्चे ब्यारेकबाट सहसेनानी अभिषेक शाहीको कमान्डमा परिचालित १/५ को टोलीले स्याफ्रुवेशी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकुवेशीका विभिन्न स्थानमा पुगेर थप ५३३ नागरिकलाई सुरक्षित स्थानमा सारेको छ ।बाढीको तीव्र बहाव र प्रतिकूल परिस्थितिको प्रवाह नगरी नेपाली सेनाले आज २०८३ भदौ ११ गते रसुवाका विभिन्न प्रभावित क्षेत्रबाट ८८३ स्थानीय तथा मजदुरको उद्धार गरेको हो । उद्धारमा खटिएका सैनिक टोलीले उच्च साहस, तदारुकता र समर्पण प्रदर्शन गर्दै जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा पुर्याएका छन् । टनेलभित्र अझै फसेकाहरूको उद्धारलाई प्राथमिकतामा राख्दै सेनाको अभियान जारी छ ।
















