हेडलाईनसमाचारबागमती

बाढीमा मृत्यु हुनेको संख्या ३ सय ५९ पुग्यो, ९ सय १० अझै सम्पर्कविहीन

प्रहार समाचार । काठमाडौँ, ११ भदौ २०८३ बिहीबार । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ३ सय ५९ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि विभिन्न जिल्लामा गरी ३ सय ५९ जनाको शव फेला परेको हो।

सबैभन्दा धेरै चितवनमा १ सय ३२, नवलपरासी पूर्वमा ८२, गोरखामा ३०, नुवाकोटमा २८, तनहुँमा २२, रसुवामा १७, नवलपरासी पश्चिममा १५ र धादिङमा ३३ जनाको शव फेला परेको छ।बाढीमा हराएकाको खोजी तथा उद्धारलाई तीव्रता दिइए पनि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार हाल ९ सय १० जना सम्पर्कविहीन रहेका छन्। तीमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार, रसुवाका १ सय ६१ र नुवाकोटका एक जना छन्। यस्तै, विदेशी नागरिक ५ सय १७ जना तथा नेपाल भ्रमणमा आएका विदेशमा बस्ने नेपाली १ सय २७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

उद्धारका लागि राज्यका सुरक्षा निकाय तथा अन्य संयन्त्र परिचालन भइरहेका छन्। हालसम्म बाढी प्रभावित क्षेत्रबाट हेलिकप्टरमार्फत ७ सय ९६ जना र जमिनबाट ७ सय ५६ जनाको उद्धार गरिएको छ। बिहीबार मात्रै उद्धारका लागि ६९ वटा हेलिकप्टर उडान भएका छन्। उद्धार गरिएकामध्ये ५० जना विदेशी नागरिकसमेत रहेको प्राधिकरणले जनाएको छ।

यसैबीच सरकारले बाढी प्रभावित रसुवा र नुवाकोटलाई एक/एक करोड तथा धादिङलाई र ५० लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ। प्रभावित क्षेत्रमा चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस र ब्ल्याङ्केटलगायत सामग्रीसहित १० ट्रक राहत पठाइएको छ। सञ्चार ‘सेट’समेत प्रभावित क्षेत्रमा पुर्‍याइएको छ भने हेलिकप्टरमार्फत चार उडानमा खाद्य तथा गैरखाद्य सामग्री पठाइएको प्राधिकरणले जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button