हेडलाईनसमाचारबागमती

बाढी प्रभावित नुवाकोटमा प्रधानमन्त्री शाह, विदुर पुगेर लिए क्षतिको प्रत्यक्ष जानकारी

प्रहार समाचार । नुवाकोट, ११ भदौ २०८३ बिहीबार । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । बाढीले पुर्‍याएको क्षति, प्रभावित बस्तीको अवस्था तथा तत्काल आवश्यक उद्धार र राहतका विषयमा जानकारी लिन प्रधानमन्त्री शाह बिहीबार बिहान नुवाकोट पुगेका हुन् । सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट पुगेका प्रधानमन्त्री शाहले विदुर तथा आसपासका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका थिए ।

उनले बाढीका कारण क्षतिग्रस्त भौतिक संरचना, नदी तटीय क्षेत्र तथा प्रभावित बस्तीको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएर आवश्यक व्यवस्थापनका विषयमा सम्बन्धित निकायसँग जानकारी लिएका हुन् ।यसअघि बुधबार रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाह उद्धार, राहत तथा क्षति न्यूनीकरणका लागि सक्रिय हुँदै आएका थिए । बाढीपछि उच्चस्तरीय बैठक आह्वान गरी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका काम प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिँदै आएका शाहले स्थलगत निरीक्षणलाई प्राथमिकतामा राखेका हुन् ।

समयको सीमितताका बीच प्रधानमन्त्री शाहले बिहीबार मुख्य रूपमा विदुर र आसपासका प्रभावित क्षेत्रको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका हुन् । स्थलगत निरीक्षणपछि उनी काठमाडौँ फर्किएका छन् । बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा क्षतिको मूल्याङ्कनलाई तीव्रता दिनुपर्ने अवस्था रहेका बेला प्रधानमन्त्रीको स्थलगत उपस्थितिलाई प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्ने प्रयासका रूपमा हेरिएको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button