प्रहार समाचार । तनहुँ, ११ भदौ२०८३ बिहीबार । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीपछि तनहुँको त्रिशूली नदी किनारमा फेला परेका नौ शवलाई कानुनी प्रक्रिया पूरा गरी पोखरा पठाइएको छ । आँबुखैरेनीदेखि देवघाटसम्मको नदी क्षेत्रमा भेटिएका शवलाई परीक्षण तथा पहिचानका लागि पोखरा स्वास्थ्थ विज्ञान प्रतिष्ठान पोखराको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बाढीले बगाएर ल्याएका ती शव यसअघि परीक्षणका लागि भरतपुर पठाइएका थिए । तर, भरतपुरका अस्पतालमा शव राख्ने ठाउँ अभाव भएपछि शवलाई पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिए । शवको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । बाढीपछि हराइरहेका तथा थप शवको खोजीका लागि प्रहरीले बिहीबार पनि त्रिशूली नदी क्षेत्रमा खोज तथा उद्धार अभियानलाई निरन्तरता दिएको छ ।

प्रहरी नायब उपरीक्षक घिमिरेको नेतृत्वमा प्रहरी टोली आँबुखैरेनी–४ देखि देवघाटसम्मको नदी क्षेत्रमा परिचालन गरिएको छ । त्रिशूली नदी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर खोजी, निगरानी तथा उद्धार कार्य तीव्र पारिएको घिमिरेले बताए । नदी किनार वा आसपासका क्षेत्रमा थप शव फेला परेमा तत्काल प्रहरीलाई खबर गर्न प्रहरीले आग्रह गरेको छ । कुनै शव देखिएमा वा प्रहरी सेवा आवश्यक परेमा प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको ९८५६०६२२५५ वा जिल्ला प्रहरी कार्यालय तनहुँको ९८५६०९०१७८ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
















