हेडलाईनसमाचारबागमतीस्वास्थ्य

मेडिकल काउन्सिलको नेतृत्वमा डा. पौडेल : सरकारी अस्पतालदेखि चिकित्सा शिक्षासम्म सुधारको जिम्मेवारी

प्रहार समाचार । काठमाडौँ, ३ भदौ २०७३ बुधबार । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुन्डिराज पौडेल नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार डा. पौडेललाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेकी हुन्। चिकित्सा सेवा, सरकारी अस्पतालको व्यवस्थापन र चिकित्सा शिक्षाका विषयमा लामो समयदेखि सार्वजनिक रूपमा धारणा राख्दै आएका डा. पौडेलले अब देशभरका चिकित्सकीय पेशाको नियमन गर्ने महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने भएका छन्।

डा. पौडेल यसअघि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष थिए। अध्यक्षका रूपमा उनले भरतपुर अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्दै चिकित्सा शिक्षा र स्वास्थ्य सेवा एउटै संस्थाबाट प्रभावकारी रूपमा अघि बढाउने योजना अघि सारेका थिए।उनले भरतपुर अस्पताललाई अन्य संस्थामा निर्भर नरहने गरी आफ्नै कानुनी आधारसहित राष्ट्रिय चिकित्सा विज्ञान संस्थानको स्वरूपमा विकास गर्नुपर्ने धारणा सार्वजनिक गर्दै आएका थिए।सरकारी अस्पतालको क्षमता अभिवृद्धि, स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा चिकित्सा शिक्षालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै आएका पौडेलको नेतृत्वमा मेडिकल काउन्सिलले चिकित्सकको व्यावसायिक आचरण, परीक्षा, दर्ता तथा चिकित्सा शिक्षासम्बन्धी नियमनमा थप सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट एमबीबीएस गरेका पौडेलले सोही संस्थानबाट नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस गरेका छन्। उनी नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिका कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा समेत काम गरिसकेका छन्।नयाँ जिम्मेवारीसँगै पौडेलसमक्ष चिकित्सकीय पेशाको विश्वसनीयता कायम राख्ने, चिकित्सा शिक्षाको गुणस्तर सुधार्ने र चिकित्सकको व्यावसायिक आचरणलाई प्रभावकारी रूपमा नियमन गर्ने चुनौती थपिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button