प्रहार समाचार । तनहुँ, ३ भदौ २०८३ बुधबार । मुग्लिङ–पोखरा सडक खण्डमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले तनहुँ प्रहरीले बिहानैदेखि चालक सचेतना अभियानलाई निरन्तरता दिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको संयुक्त आयोजनामा आज बिहान ४ बजेदेखि सञ्चालन गरिएको अभियान बिहान ७ बजेसम्म जारी रह्यो।

अभियानका क्रममा प्रहरीले सडकको अवस्था र मौसमअनुसार सवारी चलाउन, लेन अनुशासन कायम गर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न चालकहरूलाई सम्झाइबुझाइ गरेको जनाएको छ। विशेषगरी बिहानको समयमा सडकमा देखिन सक्ने जोखिमलाई मध्यनजर गर्दै चालकलाई सावधानी अपनाउन आग्रह गरिएको थियो।

तीन घण्टाको अवधिमा दुईपाङ्ग्रे २३, चारपाङ्ग्रे साना सवारी ३६ र ठूला सवारी ६३ गरी कुल १२२ वटा सवारीसाधनका चालकलाई सचेत गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

सडकको अवस्था, मौसम र चालकको व्यवहार दुर्घटनाका प्रमुख जोखिममध्ये पर्ने भएकाले दुर्घटना हुनुअघि नै सचेत गराउने अभियानलाई प्रहरीले प्राथमिकतामा राखेको छ।प्रहरीले मुग्लिङ–पोखरा सडक खण्डमा यात्रा गर्ने सबै चालकलाई तीव्र गति नगर्न, लेन अनुशासन पालना गर्न, मौसम तथा सडकको अवस्थाअनुसार गति नियन्त्रण गर्न र ट्राफिक नियमको अनिवार्य पालना गर्न आग्रह गरेको छ।
















