हेडलाईनसमाचारसुदुर पश्चिम

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

प्रहार समाचार । धनगढी, ३ साउन २०८३ बुधबार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्दै आफ्नो सरकारको नेतृत्वलाई तत्कालका लागि सुरक्षित गरेका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा सहभागी ४६ सांसदमा ३१ जनाले भट्टको पक्षमा मतदान गरेपछि उनले बहुमत जुटाएका हुन् ।विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको मतदानमा १५ सांसदले भने विपक्षमा मत दिएका थिए ।

सभामुख भीमबहादुर भण्डारीले प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको घोषणा गर्दै मुख्यमन्त्री भट्टले विश्वासको मत पाएको औपचारिक जानकारी गराएका हुन् ।भट्टलाई नेकपाका २० र उपसभामुखसहित एमालेका ११ प्रदेशसभा सदस्यले समर्थन गरेका थिए । एमालेको समर्थनमा गत शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले नियुक्तिको केही दिनमै प्रदेशसभाको विश्वाससमेत हासिल गरेका हुन् ।

विश्वासको मत पाएसँगै भट्ट नेतृत्वको प्रदेश सरकारलाई तत्कालका लागि सत्ता सञ्चालनको बाटो खुलेको छ । ४६ सदस्य सहभागी बैठकमा ३१ मत प्राप्त हुनु सरकारको पक्षमा स्पष्ट बहुमत हो । विपक्षमा परेको १५ मतले भने प्रदेशसभाभित्र सरकारप्रतिको राजनीतिक असहमतिको अवस्था पनि देखाएको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button