प्रहार समाचार । तनहुँ, २१ साउन २०८३ बिहीबार । तनहुँको दमौलीस्थित एनएमबी बैंक शाखा आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशकै उत्कृष्ट कार्यसम्पादन गर्ने शाखाका रूपमा सम्मानित भएको छ। बैंकको वरिष्ठ व्यवस्थापन टोलीले शाखालाई ‘बेस्ट परफर्मिङ ब्राञ्च’ घोषणा गर्दै सम्मानपत्र प्रदान गरेको हो।

निर्धारित व्यावसायिक लक्ष्य हासिल गर्दै सेवा प्रवाह, वित्तीय कार्यसम्पादन तथा समग्र व्यवस्थापनमा उत्कृष्ट नतिजा हासिल गरेपछि दमौली शाखाले उक्त उपलब्धि हात पारेको बैंकले जनाएको छ। बैंकका अनुसार दमौली शाखाले आर्थिक वर्षभर ग्राहकलाई गुणस्तरीय तथा विश्वासिलो बैंकिङ सेवा उपलब्ध गराउँदै उल्लेखनीय कार्यसम्पादन गरेको थियो। शाखाको सफलतामा कर्मचारीहरूको मेहनत, अनुशासन, समर्पण र टोलीगत कार्यशैलीसँगै ग्राहकले देखाएको निरन्तर विश्वास मुख्य आधार बनेको बैंकको भनाइ छ।

सम्मानले आगामी दिनमा अझ प्रभावकारी र ग्राहकमुखी सेवा प्रवाह गर्न थप प्रेरणा मिल्ने विश्वास पनि शाखाले व्यक्त गरेको छ।गण्डकी प्रदेशका शाखामध्ये उत्कृष्ट घोषित हुनु दमौली शाखाका लागि महत्वपूर्ण उपलब्धि भएको बैंकले जनाएको छ। शाखाले आगामी दिनमा पनि आधुनिक, सुरक्षित र सहज बैंकिङ सेवामार्फत ग्राहकको विश्वासलाई अझ मजबुत बनाउँदै उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।















