• चन्द्रावती कमली (नहर्की) तनहुँ, २२ साउन २०८३ शुक्रबार । कृषि विकास कार्यालय तनहुँले आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश र संघीय सरकारबाट कुल ६ करोड ८९ लाख रुपैयाँ बजेटसहित वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ। कार्यालय प्रमुख परशुराम अधिकारीका अनुसार प्रदेश सरकारबाट ६ करोड ५९ लाख रुपैयाँ र संघीय सरकारबाट ३० लाख रुपैयाँ विनियोजन भएको उल्लेख गरे । छ

कार्यालयले यस वर्ष उत्पादन वृद्धि, आधुनिक कृषि प्रविधिको विस्तार तथा कृषकको क्षमता अभिवृद्धिलाई केन्द्रमा राखेर कार्यक्रम कार्यान्वयन गर्ने दमौलीमा हिंजो आयोजित पत्रकारहरु माझ सार्वजनीक गरिएको हो । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा विद्यालय कृषि शिक्षा कार्यक्रम, प्रयोगशाला सेवा विस्तार, स्थानीय तहमा कृषि शिविर सञ्चालन, कृषिसम्बन्धी अध्ययन, अनुसन्धान तथा सर्वेक्षण, एकीकृत शत्रुजीव व्यवस्थापन (आईपिएम) कृषक पाठशाला तथा उत्कृष्ट कृषक पुरस्कार लगायतका कार्यक्रम सञ्चालन गरिनेछन्। यी कार्यक्रममार्फत कृषिमा प्रविधिमैत्री अभ्यास विस्तार गर्दै उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य लिइएको छ।

कार्यालय प्रमुख अधिकारीले कृषकलाई आधुनिक खेती प्रणालीसँग जोड्ने, वैज्ञानिक कृषि अभ्यासलाई प्रोत्साहन गर्ने तथा स्थानीय तहसँगको सहकार्यमा प्रभावकारी सेवा प्रवाह गर्ने गरी कार्यक्रम तयार गरिएको बताए। उनका अनुसार कृषकको सीप, ज्ञान र व्यावसायिक क्षमतामा वृद्धि हुने खालका कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिएको छ।

कृषि क्षेत्रलाई व्यावसायिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित ल्याइएका यी कार्यक्रमले तनहुँका कृषकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। कार्यालयले विनियोजित बजेटलाई प्रभावकारी रूपमा परिचालन गर्दै जिल्लाको कृषि उत्पादन वृद्धि, सेवा विस्तार र कृषकको आयआर्जन सुधारमा केन्द्रित भएर कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ।
















