हेडलाईनभानुसमाचारगण्डकी

भानुमा रासायनिक मलको चरम हाहाकार, मागको १० प्रतिशत पनि नआएपछि किसान चिन्तित

प्रहार समाचार । तनहुँ, २१ साउन २०८३ बिहीबार । तनहुँको भानु नगरपालिकामा रासायनिक मलको चरम अभाव देखिएको छ। धान तथा अन्य बालीका लागि अत्यावश्यक रासायनिक मल मागको तुलनामा १० प्रतिशत पनि उपलब्ध नभएपछि किसानहरू चिन्तित बनेका छन्।

नगरपालिकाको कृषि विकास शाखाका अनुसार किसानहरूको वास्तविक आवश्यकतालाई मध्यनजर गर्दै गत साउन १२ गते ३ हजार ४० बोरा युरिया, ६० बोरा डिएपी र १० बोरा पोटास मल माग गरिएको थियो। तर गण्डकी प्रदेश सरकार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत संघीय सरकारबाट प्राप्त भएको कोटाअनुसार भानु नगरपालिकाले २० टन अर्थात् ४०० बोरा युरिया र २० टन अर्थात् ४०० बोरा डिएपी मात्रै प्राप्त गरेको छ, जसले किसानको माग धान्न नसक्ने अवस्था सिर्जना भएको छ।साउन १८ गते बसेको स्थानीय मल वितरण व्यवस्थापन समितिको बैठकले प्राप्त सीमित परिमाणको मलको प्रकार र वितरण प्रक्रिया तय गरेको छ। नगरपालिकाले किसानको मागअनुसार पर्याप्त मल माग गरे पनि संघ र प्रदेशबाट अत्यन्त न्यून कोटा निर्धारण भएर आएकाले अभाव भएको जनाएको छ।

प्राप्त मललाई अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२ को दफा २८ बमोजिम न्यायोचित र पारदर्शी ढंगले वितरण गरिने नगरपालिकाले स्पष्ट पारेको छ।रासायनिक मलको अभावले खेतीपातीको मुख्य समयमा किसानहरू मारमा परेका छन्। उत्पादन बढाउने महत्वपूर्ण समयमा मल नपाउँदा यस वर्षको कृषि उत्पादनमै असर पर्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन्। यसैबीच नगरपालिकाले थप रासायनिक मल उपलब्ध गराउन सम्बन्धित संघीय तथा प्रदेश सरकारसँग निरन्तर समन्वय र पहल भइरहेको जनाएको छ। किसानले भने तत्काल पर्याप्त मल आपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button