प्रहार समाचार । तनहुँ, साउन २० साउन २०८३ भानु नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई शिक्षा सम्बन्धी कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न परिपत्र जारी गरेको छ। शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत सरस्वती गुरुङ ढकालद्वारा हस्ताक्षरित साउन १८ गतेको परिपत्रमा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ तथा भानु नगरपालिका शिक्षा ऐन, २०७७ अनुसार सामुदायिक विद्यालयले विद्यार्थीसँग कुनै पनि प्रकारको शुल्क लिन नपाइने स्पष्ट गरिएको छ।

स्वेच्छिक रूपमा प्राप्त हुने दान, चन्दा वा सहयोगबाहेक अन्य शुल्क असुल गरे कानुनबमोजिम शुल्क फिर्ता गराइ कारबाहीसमेत गरिने चेतावनी दिइएको छ।परिपत्रमा विद्यालयहरूले लब्धाङ्कपत्र (ग्रेडसिट), स्थानान्तरण तथा चारित्रिक प्रमाणपत्र वितरण गर्दा अस्वाभाविक शुल्क लिने गुनासो बढेकाले त्यसमा पनि कडाइ गरिएको उल्लेख छ। अबदेखि सबैभन्दा माथिल्लो कक्षाका विद्यार्थीलाई लब्धाङ्कपत्र तथा स्थानान्तरण एवं चारित्रिक प्रमाणपत्र उपलब्ध गराउँदा अधिकतम एक हजार रुपैयाँभन्दा बढी शुल्क लिन नपाइने व्यवस्था गरिएको छ। नगरपालिकाले यो निर्णय विद्यार्थी र अभिभावकमाथिको आर्थिक भार कम गर्न तथा विद्यालयहरूमा एकरूपता कायम गर्न गरिएको जनाएको छ।त्यसैगरी सामुदायिक विद्यालयमा तल्लो तहको दरबन्दीमा कार्यरत शिक्षकले माथिल्लो तहमा अध्यापन गरेबापत अतिरिक्त सुविधा उपलब्ध गराउने वा त्यस्तो सुविधा माग गर्ने अभ्यास तत्काल बन्द गर्न पनि निर्देशन दिइएको छ। नगरपालिकाले यस्ता अतिरिक्त सुविधा उपलब्ध गराउँदा विद्यालय र अभिभावकमाथि आर्थिक भार थपिने तथा त्यसको असर विद्यार्थीबाट शुल्क उठाउने अवस्थासम्म पुग्ने भएकाले निःशुल्क शिक्षाको अवधारणालाई प्रभावकारी बनाउन अब उप्रान्त यस्तो व्यवस्था नगर्न स्पष्ट निर्देशन दिएको छ।

भानु नगरस्तरीय परीक्षा समितिको निर्णयअनुसार शैक्षिक सत्र २०८३ को प्रथम त्रैमासिक परीक्षा पूर्वनिर्धारित भदौ ४ गतेको सट्टा भदौ १५ गतेदेखि सञ्चालन गरिने भएको छ।

वैशाख १५ गतेबाट शैक्षिक सत्र सुरु भएको तथा थप आइतबार बिदाका कारण शिक्षण कार्यदिन अपुग हुने भएकाले परीक्षा मिति सारिएको नगरपालिकाले जनाएको छ। कक्षा १ देखि ५ सम्म आन्तरिक मूल्याङ्कनमार्फत अभिलेखीकरण गरिने तथा कक्षा ६ देखि १० सम्मका लागि प्रश्नपत्र र उत्तरपुस्तिका पालिकाले उपलब्ध गराउने उल्लेख गर्दै विद्यालयलाई वार्षिक कार्यतालिका अनुसार पठनपाठन सम्पन्न गरी समयमै परीक्षाको तयारी गर्न निर्देशन दिइएको छ।















