प्रहार समाचार । तनहुँ, २० साउन २०८३ बुधबार । गण्डकी प्रदेशको तनहुँस्थित देवघाट गाउँपालिका धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्वका दृष्टिले नेपालकै प्रमुख तीर्थस्थलका रूपमा परिचित छ। गाउँपालिकाले पनि “समुन्नत देवघाटको आधार; धार्मिक पर्यटन, कृषि र सम्पन्न पूर्वाधार” भन्ने दीर्घकालीन लक्ष्यलाई अघि सार्दै धार्मिक पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ।

देवघाटधामको केन्द्रमा रहेको पवित्र देवघाट संगमबेणी लाई आदिप्रयागका रूपमा चिनिन्छ। स्कन्द पुराणको हिमवत खण्डमा समेत उल्लेख भएको यस तीर्थस्थलमा वर्षभरि देश–विदेशबाट लाखौं श्रद्धालु स्नान, पूजा तथा धार्मिक अनुष्ठानका लागि पुग्ने गर्दछन्। विशेषगरी माघे सङ्क्रान्ति लगायतका अवसरमा यहाँ भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ।

देवघाट क्षेत्रमा गण्डकी वेणी, प्याउलीगढी, घण्टाचुली, करिब २०० वर्ष पुरानो ऐतिहासिक घण्टाचुली मन्दिर, सीता गुफा, सिद्धेश्वर महादेव, मणि मुकुन्देश्वर मन्दिर, सिद्धगढी कालिका मन्दिर, पालु राजाको मन्दिर तथा प्राकृतिक सौन्दर्यले भरिएको छरछरे झरना प्रमुख आकर्षणका रूपमा रहेका छन्।

यहाँका सुन्तला बगैंचाले धार्मिक पर्यटनसँगै कृषि पर्यटनलाई समेत थप टेवा पुर्याइरहेका छन्। धार्मिक सम्पदा, प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्वका कारण देवघाट गाउँपालिका आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ। धार्मिक आस्था, सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनालाई संरक्षण तथा प्रवर्द्धन गर्दै स्थानीय आर्थिक विकासलाई गति दिने उद्देश्यका साथ गाउँपालिकाले विभिन्न पूर्वाधार तथा पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिरहेको पालिकाका अध्यक्ष तिल बहादुर थापाले जनाए ।















