प्रहार समाचार । तनहुँ, २० दमौली, साउन १८ — जिल्ला भूमि समस्या समाधान समिति तनहुँले जेन्जी आन्दोलनका क्रममा आगजनीबाट नष्ट भएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका निवेदन फाइल पुनः संकलन गर्न २१ दिने सार्वजनिक सूचना जारी गरेको छ। समितिले शुक्लागण्डकी नगरपालिका क्षेत्रका सम्बन्धित लाभग्राहीलाई तोकिएको ढाँचामा पुनः निवेदन पेस गर्न आग्रह गरेको हो । तस्बिर : एआई

समितिका अनुसार भूमि समस्या समाधान समिति, ताहाचल काठमाडौंको च.नं. ४९, मिति २०८३ साउन ६ गतेको अधिकार प्रत्यायोजनसम्बन्धी पत्रअनुसार जेन्जी आन्दोलनका क्रममा आगजनी वा तोडफोडबाट नष्ट भएका निवेदनका सम्बन्धमा सम्बन्धित जिल्ला भूमि समस्या समाधान समितिले निर्णय गरी २१ दिनको समय दिएर लगत संकलनको सूचना प्रकाशन गर्ने व्यवस्था गरिएको छ। सोही निर्देशनअनुसार जिल्ला भूमि समस्या समाधान समिति तनहुँको साउन १४ गतेको बैठकले पुनः निवेदन संकलन गर्ने निर्णय गरेको जनाएको छ।सूचनाअनुसार शुक्लागण्डकी नगरपालिका, दुलेगौंडामा भएको आन्दोलनका क्रममा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका निवेदन फाइल आगजनीबाट नष्ट भएकाले प्रभावित सेवाग्राहीले जग्गा प्राप्तिको प्रक्रियामा सहभागी हुन पुनः निवेदन दिनुपर्नेछ।

समितिले तोकेको ढाँचाको फाराम भरेर शुक्लागण्डकी नगरपालिकाले तोकेका सम्बन्धित वडा कार्यालयमा निवेदन दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।समितिले मिति २०८३ साउन १८ गतेदेखि २१ दिनभित्र अनिवार्य रूपमा निवेदन पेस गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। तोकिएको अवधिभित्र निवेदन दर्ता नगरे भविष्यमा जग्गा व्यवस्थापनसम्बन्धी प्रक्रियामा समस्या आउन सक्ने भएकाले सूचना समयमै पालना गर्न समिति स्रोतले अनुरोध गरेको छ।















