• विजय अधिकारी (प्रहार संवाददाता ) लमजुङ, १८ साउन २०८३ सोमबार । हिमाली जिल्ला मनाङको मर्स्याङ्दी नदीमाथि निर्माण गरिएको मर्स्याङ्दी–नारफू बेलिब्रिज सञ्चालनमा आएको छ। पुल उद्घाटन भएसँगै वर्षौंदेखि सडक पहुँचबाट वञ्चित रहेको नार्पाभूमि गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग प्रत्यक्ष रूपमा जोडिने महत्वपूर्ण आधार तयार भएको छ।

चामे गाउँपालिका–३ कोतो र वडा नं. ५ लाई जोड्ने यो पुल मुख्य रूपमा नार्पाभूमि गाउँपालिकाका स्थानीयवासी, कर्मचारी, पर्यटक तथा सेवा प्रदायकले प्रयोग गर्नेछन्। गाउँपालिकाका अनुसार ५४.५ मिटर लम्बाइको यो पुल मनाङमा निर्माण गरिएका बेलिब्रिजमध्ये सबैभन्दा लामो हो। आज पुल उद्घाटन गर्दै नार्पाभूमि गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामाले मर्स्याङ्दी नदीका कारण दशकौँदेखि सडक पहुँचबाट वञ्चित स्थानीयको प्रतीक्षा अन्त्य भएको बताए। उनले पुलले दुई किनारा मात्र नभई नार्पाभूमिको भविष्य जोडेको उल्लेख गर्दै सडक पहुँच विस्तारसँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, व्यापार, सेवा प्रवाह तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे। निजी क्षेत्रसँगको सहकार्यबाट अत्यावश्यक पूर्वाधार निर्माण हुनु स्थानीयका लागि गौरवको विषय भएको उनको भनाइ थियो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील लम्सालका अनुसार दुर्गम हिमाली भूगोल, सीमित निर्माण मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाबीच नार्पाभूमि गाउँपालिका र नारखोला हाइड्रो इनर्जी प्रालिको साझेदारीमा निर्माण गरिएको पुल सम्झौता भएको सात महिनामै सम्पन्न भएको हो। करिब ६ करोड रुपैयाँ लागतमा निर्माण भएको ५४.५ मिटर लामो र ४ मिटर चौडा पुल हाल ५५ टन भारवहन क्षमतामा सञ्चालनमा आएको छ। आवश्यक प्राविधिक व्यवस्थापनपछि यसको क्षमता ६५ टनसम्म विस्तार गर्न सकिने जनाइएको छ। नार खोलामा निर्माणाधीन अर्को पुल सम्पन्न भएपछि नार्पाभूमि पूर्ण रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिने गाउँपालिकाले जनाएको छ।

पुल सञ्चालनसँगै निर्माण सामग्री, खाद्यान्न, औषधिलगायत अत्यावश्यक वस्तुको ढुवानी सहज हुने, स्थानीय कृषि तथा पशुजन्य उत्पादनको बजारीकरणमा टेवा पुग्ने, पर्यटन प्रवर्द्धन हुने तथा विपद्का बेला उद्धार र राहत कार्य थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नारखोला हाइड्रो इनर्जी प्रालिका पदाधिकारी, निर्माण कम्पनीका प्रतिनिधि, सुरक्षा निकाय, स्थानीयवासी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।
















