हेडलाईनसमाचारगण्डकी

लमजुङमा ग्यास अभावको हल्लाले बजार ततायो, डिपोमै उपभोक्ताको भीड

• विजय अधिकारी (प्रहार संवाददाता) लमजुङ,१७ साउन २०८३ आइतबार । अन्तर्राष्ट्रिय तनावका कारण एलपी ग्यास आपूर्तिमा समस्या आउन सक्ने हल्ला फैलिएपछि लमजुङको बेँसीशहरमा आइतबार ग्यास बिक्री केन्द्र र डिलरमा उपभोक्ताको भीड लागेको छ। ग्यास बोकेको ट्रकबाट सिलिन्डर झार्न नपाउँदै ग्यास खरिद गर्न सर्वसाधारणको भीड देखिएको हो।

सम्भावित अभावको त्रासले धेरै उपभोक्ता तत्कालै ग्यास जोहो गर्न पुगेपछि बजारमा अस्वाभाविक चाप सिर्जना भएको छ।ग्यास व्यवसायीहरूले भने हालसम्म ग्यास आपूर्तिमा कुनै आधिकारिक समस्या नरहेको स्पष्ट पार्दै अफवाहको पछि नलाग्न उपभोक्तालाई आग्रह गरेका छन्। उनीहरूका अनुसार नियमित आपूर्ति भइरहेकाले आवश्यकता अनुसार मात्रै ग्यास खरिद गरे सबै उपभोक्ताले सहज रूपमा सेवा पाउने अवस्था रहेको छ। अनावश्यक रूपमा धेरै सिलिन्डर खरिद गर्दा बजारमा कृत्रिम अभाव सिर्जना हुने उनीहरूको भनाइ छ।स्थानीयका अनुसार ग्यास अभावको हल्ला सुरु हुनासाथ केही व्यवसायी, उद्योगी तथा सम्पन्न परिवारले आवश्यकता भन्दा धेरै सिलिन्डर एकैपटक खरिद गरी सञ्चित गर्ने प्रवृत्ति दोहोरिने गरेको छ।

कतिपयले ५–७ वटादेखि १०–१५ वटासम्म सिलिन्डर भण्डारण गर्ने गरेकाले वास्तविक आवश्यकतामा रहेका उपभोक्ता ग्यास नपाएर समस्यामा पर्ने गरेका छन्। उनीहरूले कृत्रिम अभाव सिर्जना गर्ने यस्ता गतिविधिमाथि कडाइ गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।स्थानीयले बजार अनुगमन प्रभावकारी बनाउन, ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न तथा कृत्रिम अभाव सिर्जना गर्ने व्यक्ति वा व्यवसायीमाथि कडा कारबाही गर्न स्थानीय सरकारसँग माग गरेका छन्। समयमै नियमन हुन नसके सानो हल्लाले पनि बजारमा आतंक फैलाउने र ग्यास आपूर्तिमा गम्भीर संकटको अवस्था निम्तिन सक्ने भन्दै सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको जोड छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button