आँबुखैरेनीहेडलाईनव्याससमाचारबन्दीपुरगण्डकी

मुग्लिङ–पोखरा सडकमा बिहानैदेखि चालक सचेतना, तीन घण्टामा १४७ सवारी चालकलाई ट्राफिक अनुशासनबारे प्रशिक्षण

प्रहार समाचार । तनहुँ, १७ साउन २०७३ आइतबार । मुग्लिङ–पोखरा सडकखण्डमा हुन सक्ने सम्भावित सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा सञ्चालन गर्दै आएको चालक सचेतना अभियान आइतबार पनि निरन्तरता दिएको छ। बिहान ४:०० बजेदेखि ७:०० बजेसम्म सञ्चालन गरिएको कार्यक्रममा विभिन्न सवारी साधनका चालकलाई सुरक्षित यात्रासम्बन्धी सचेतना प्रदान गरिएको प्रहरीले जनाएको छ।

अभियानका क्रममा चालकहरूलाई सडकको वर्तमान अवस्था, मौसमको प्रभाव, लेन अनुशासनको पालना, निर्धारित गति कायम राख्ने, ओभरटेक गर्दा अपनाउनुपर्ने सावधानी तथा ट्राफिक नियमको पूर्ण पालनाबारे सम्झाइ–बुझाइ गरिएको थियो।

दुर्घटना न्यूनीकरणका लागि चालकको जिम्मेवारीपूर्ण भूमिका महत्वपूर्ण हुने भएकाले सचेतनामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार तीन घण्टाको अवधिमा ३४ वटा दुईपाङ्ग्रे, ४८ वटा चारपाङ्ग्रे साना सवारी तथा ६५ वटा ठूला सवारी साधनका चालकलाई सचेतना प्रदान गरिएको छ। यस अवधिमा कुल १४७ जना चालकलाई सुरक्षित सवारी सञ्चालनका विषयमा जानकारी गराइएको प्रहरीले उल्लेख गरेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँले विशेषगरी वर्षायाममा सडक चिप्लो हुने, पहिरो खस्ने तथा दृश्यता कम हुने जोखिमलाई ध्यानमा राख्दै चालकहरूलाई उच्च सतर्कताका साथ सवारी सञ्चालन गर्न आग्रह गरेको छ। मुग्लिङ–पोखरा सडकखण्डमा दुर्घटना न्यूनीकरणका लागि यस्ता सचेतनामूलक अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रहरीले जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button