हेडलाईनव्याससमाचारगण्डकी

नेपाली कांग्रेस व्यास नगर सभापतिमा खनालको सशक्त दावेदारी

प्रहार समाचार । तनहुँ, १६ साउन २०८३ शनिबार । नेपाली कांग्रेसको आगामी अधिवेशन नजिकिँदै गर्दा व्यास नगर समितिको सभापतिका लागि युवा नेता हरि खनालले आफ्नो सशक्त दावेदारी सार्वजनिक गरेका छन्। विद्यार्थी राजनीतिदेखि पार्टी संगठनमा निरन्तर सक्रिय रहँदै आएका खनालले नगर सभापतिको जिम्मेवारी सम्हालेर संगठनलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउने उद्देश्यका साथ उम्मेदवारीको इच्छा व्यक्त गरेको बताएका छन् ।

उनले आफ्नो राजनीतिक यात्रामा जिम्मेवार पदमा रहेर संगठनात्मक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन्। २०५७ सालमा निर्मल माध्यमिक विद्यालयको इकाई उपाध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका खनाल २०५९ सालदेखि आदिकवि भानुभक्त क्याम्पसमा नेपाल विद्यार्थी संघको विभिन्न जिम्मेवारीमा सक्रिय रहे। २०७० सालमा नेपाल विद्यार्थी संघ तनहुँका जिल्ला प्रवक्ता बनेका उनी २०७२ सालमा नेपाली कांग्रेस व्यास–१ को सचिवमा निर्वाचित भई लगातार दुई कार्यकाल जिम्मेवारी सम्हालेका थिए। २०७८ सालदेखि भने नेपाली कांग्रेस तनहुँ क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा क्षेत्र नं. २ का सचिवको जिम्मेवारीमा कार्यरत छन्। राजनीतिसँगै सामाजिक तथा शैक्षिक क्षेत्रमा समेत सक्रिय खनाल २०७५ सालमा निर्मल माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको सदस्य रहेका थिए। अङ्ग्रेजी र समाजशास्त्र विषयमा स्नातक तह खनाल भानु नगरपालिका–६ टुहुरेपसल (साविक सतिश्वरा–१) पुर्ख्यौली थलो भए पनि हाल उनी व्यास नगरपालिका–१ भानुभक्त टोलमा बसोबास गर्दै आएका छन् ।

२०४१ सालमा जन्मिएका खनाललाई विकास निर्माण, जनसरोकारका विषय र संगठनात्मक सक्रियताका कारण कांग्रेसभित्र उदाउँदा युवा नेताका रूपमा हेरिने गरिएको छ। नगर सभापतिमा आफ्नो दावेदारी सार्वजनिक गर्दै खनालले पार्टीलाई अझ एकताबद्ध, सशक्त र जनतामुखी बनाउने लक्ष्यका साथ नेतृत्वमा आउने इच्छा व्यक्त गरेका छन्। उनले राजनीतिक यात्रामा प्राप्त अनुभवलाई संगठन निर्माणमा उपयोग गर्ने प्रतिबद्धता जनाउँदै पार्टीका नेता तथा कार्यकर्ताबाट सकारात्मक सुझाव र समर्थन प्राप्त भइरहेको बताएका छन्। कांग्रेसको आगामी नगर नेतृत्व चयन प्रक्रियामा खनालको दावेदारीले व्यास नगरको राजनीतिक वृत्तमा विशेष चासोको विषय बनेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button