प्रहार समाचार । काठमाडौं, १६ साउन २०८३ शनिबार । पूर्व उप प्रधानमन्त्री तथा पूर्वशिक्षामन्त्री गोपालमान श्रेष्ठको निधनपछि देशभरका शिक्षक समुदाय शोकमा डुबेको छ। शिक्षा क्षेत्रमा पुर्याएको योगदानको सम्मानस्वरूप विभिन्न जिल्लाका शिक्षकहरूले कपाल मुण्डन गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। शिक्षकहरूको अधिकार र सेवासुविधा सुनिश्चित गर्न उनले खेलेको भूमिकाको स्मरण गर्दै उनीप्रति गहिरो सम्मान व्यक्त गरिएको हो।

पूर्व शिक्षामन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा शिक्षा ऐन संशोधन गरी करिब १४ हजार अस्थायी शिक्षकलाई स्थायी बनाउने ऐतिहासिक निर्णय गरेका थिए। त्यस्तै, परीक्षामा सहभागी नभएका तथा सहभागी भएर पनि उत्तीर्ण हुन नसकेका करिब १३ हजार अस्थायी शिक्षकका लागि ‘गोल्डेन ह्यान्डसेक’को व्यवस्था लागू गरेपछि उनी शिक्षक समुदायका प्रिय नेताका रूपमा स्थापित भएका थिए।श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तत्कालीन अस्थायी शिक्षक आन्दोलनका केन्द्रीय उपाध्यक्ष, शिक्षक हकहित मञ्चका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय आधारभूत विद्यालय ठिमुराका प्रधानाध्यापक ज्योति नारायण ढकालले कपाल मुण्डन गरेका छन्।



त्यसैगरी, तत्कालीन अस्थायी शिक्षक आन्दोलनका क्रममा तीन पटकसम्म आमरण अनशन बसेका शिक्षक हकहित मञ्चका केन्द्रीय सदस्य किसुन यादवसहित देशभरका कैयौं शिक्षकले पनि कपाल मुण्डन गर्दै शोक व्यक्त गरेका छन्। श्रेष्ठको जावलाखेलस्थित हेलिअस अस्पतालमा क्यान्सरको उपचारका क्रममा ८३ वर्षको उमेरमा यहि साउन १२ गते निधन भएको थियो।
शिक्षकहरूले गोपालमान श्रेष्ठलाई शिक्षकहरूको अधिकार, सम्मान र भविष्य सुनिश्चित गर्न निर्णायक भूमिका निर्वाह गर्ने नेताका रूपमा स्मरण गरेका छन्। शिक्षा क्षेत्रमा उनले पुर्याएको योगदान दीर्घकालसम्म स्मरणीय रहने उल्लेख गर्दै शिक्षक समुदायले उनको निधनलाई शिक्षा क्षेत्रकै अपूरणीय क्षति भएको बताएका छन्।















