प्रहार समाचार । तनहुँ, १६ साउन २०८३ शनिबार । नेपाली कांग्रेस तनहुँ क्षेत्र नं. २ की क्षेत्रीय सदस्य कमला सिग्देल नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको महिला तथा घरेलु उद्यमी व्यवसायी समन्वय समितिको सदस्यमा मनोनीत भएकी छन्। प्रदेश उद्योग वाणिज्य महासंघको गठन तथा सञ्चालन सम्बन्धी नियमावली, २०८२ को परिच्छेद–११ को दफा ५३ बमोजिम उनलाई समितिको सदस्यमा मनोनयन गरिएको हो।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सभापति काशी गुरुङद्वारा २०८३ असार २२ गते जारी गरिएको मनोनयन पत्रमार्फत सिग्देललाई समितिको सदस्यको जिम्मेवारी प्रदान गरिएको जनाएको छ। महासंघले विधान, नियमावली तथा आचारसंहिताको पालना गर्दै समितिलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक कार्यविधि तयार गरी अघि बढाउन आग्रह गरेको छ।महासंघले महिला तथा घरेलु उद्यमी व्यवसायी समन्वय समितिलाई सशक्त र परिणाममुखी बनाउने अभियानमा सिग्देलको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरेको छ।
महिला उद्यमशीलता प्रवर्द्धन, घरेलु उद्योगको विकास तथा आर्थिक आत्मनिर्भरताका क्षेत्रमा उनको अनुभव र सक्रियताले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको महासंघको भनाइ छ।सिग्देल नेपाली कांग्रेस तनहुँ क्षेत्र नं. २ की क्षेत्रीय सदस्यका रूपमा समेत सक्रिय रहँदै आएकी छन्। महासंघको प्रदेशस्तरीय जिम्मेवारीमा उनको मनोनयनसँगै गण्डकी प्रदेशमा महिला उद्यमीहरूको क्षमता अभिवृद्धि, व्यवसाय विस्तार र समन्वयात्मक गतिविधि थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।















