हेडलाईनसमाचारगण्डकीम्याग्दे

उत्कृष्ट कार्यसम्पादनको कदर : तनहुँको म्याग्देमा कर्मचारीदेखि जनप्रतिनिधिसम्म सम्मानित

प्रहार समाचार । तनहुँ, ११ साउन २०८३ सोमबार । तनहुँको म्याग्दे गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन, जिम्मेवारीप्रतिको समर्पण र सेवा प्रवाहमा पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै विभिन्न शाखाका कर्मचारी तथा जनप्रतिनिधिलाई सम्मान गरेको छ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा बजेट सार्वजनिक कार्यक्रमका अवसरमा उद्योग, पर्यटन, सहकारी तथा आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपाने, शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख विष्णु क्षेत्री र आर्थिक प्रशासन शाखा प्रमुख तथा लेखा अधिकृत शिवजी थापालाई विशेष सम्मान गरिएको हो।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे तथा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले संयुक्त रूपमा दोसल्ला, सम्मानपत्र र प्रमाणपत्र प्रदान गर्दै उनीहरूको योगदानको उच्च मूल्याङ्कन गरे। गाउँपालिकाका अनुसार न्यौपानेले उद्यमशीलता, सहकारी प्रवर्द्धन, पर्यटन विकास तथा स्थानीय आर्थिक गतिविधि विस्तारमा, क्षेत्रीले शिक्षा सुधार, सामाजिक विकास तथा बालमैत्री कार्यक्रम सञ्चालनमा र थापाले वित्तीय अनुशासन, पारदर्शी बजेट व्यवस्थापन तथा आर्थिक सुशासन कायम गर्न उल्लेखनीय भूमिका निर्वाह गरेका छन्।

यसै अवसरमा पशु विकास अधिकृत मुक्तिराम पौडेल, प्राविधिक विज्ञान पौडेल, वडा नं. ५ का सचिव विमला गैरे, राजश्व शाखाका अक्षयकुमार कायस्थ तथा कार्यालय सहयोगी महेन्द्रकुमार श्रेष्ठ र समुन्द आलेलाई पनि उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। उनीहरूले आ–आफ्नो जिम्मेवारीमा प्रभावकारी सेवा प्रवाह गर्दै स्थानीय सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन योगदान पुर्‍याएको उल्लेख गरिएको छ।कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ३ का अध्यक्ष टुकराज अधिकारीलाई गाउँपालिकाकै पहिलो बालमैत्री वडा घोषणा गराउन सफल भएको तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै विशेष सम्मान गरिएको थियो।

त्यस्तै म्याग्दे उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुन्दरमणि अधिकारीलाई समेत सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले उत्कृष्ट कार्यलाई सार्वजनिक रूपमा सम्मान गर्ने परम्पराले कर्मचारी र जनप्रतिनिधिमा थप जिम्मेवारीबोध तथा सेवाप्रति प्रतिबद्धता बढ्ने विश्वास व्यक्त गरेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button