प्रहार समाचार । काठमाडौँ, ११ साउन २०८३ सोमबार । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज पनि विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा हुने तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विशेषगरी कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। अहिले हिमाली र पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली तथा तराईका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।

लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि वर्षा हुने सम्भावना छ।

कर्णालीको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। महाशाखाले आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ। हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, मधेश र कोशी प्रदेशका तराईका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।















