प्रहार समाचार । तनहुँ, ११ साउन २०८३ सोमबार । व्यास अवतरण तथा गुरु पूर्णिमा दिवसको अवसरमा व्यास जन्मभूमि तनहुँ दमौलीमा आजदेखि तीनदिने धार्मिक, सांस्कृतिक तथा बौद्धिक कार्यक्रम सुरु हुँदैछ। व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषको आयोजनामा आजदेखि १३ गतेसम्म सञ्चालन हुने कार्यक्रममार्फत महर्षि वेदव्यासको योगदान, संस्कृत भाषा तथा व्यास जन्मभूमिको ऐतिहासिक महत्वलाई प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।

कोषका अध्यक्ष प्रेमप्रकाश भट्टराईले कार्यक्रमबारे जानकारी दिँदै पहिलो दिन आज व्यास गुफास्थित सभा हलमा संस्कृत भाषाका लेख–रचनाहरू वाचन तथा महर्षि वेदव्यासको जीवन, दर्शन र योगदानबारे प्रवचन कार्यक्रम आयोजना गरिने बताए। उनले व्यास अवतरण तथा गुरु पूर्णिमा दिवसलाई ज्ञान, संस्कृति र सभ्यताको संरक्षणसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा मनाउनुपर्नेमा जोड दिए।
यसै बिच वेदअनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमिति तनहुँले पनि व्यास जयन्ती तथा गुरु पूर्णिमाको अवसरमा आज दिउसो व्यास–३ स्थित व्यास गुफा सभाहलमा विशेष पूजा, प्रवचन, साहित्यिक रचनावाचन तथा भजन प्रतियोगिता आयोजना गरेको छ। प्रतिष्ठानका उपाध्यक्ष अञ्जनराज न्यौपानेले नेपाल पत्रकार महासंघ तनहुँ शाखाका पदाधिकारीसहित जिल्लामा क्रियाशील सम्पूर्ण पत्रकारलाई कार्यक्रममा सहभागी भई व्यास जन्मभूमिको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व उजागर गर्न सहयोग गर्न हार्दिक निमन्त्रणा गरेका छन् ।
कार्यक्रमअन्तर्गत दोस्रो दिन साउन १२ गते व्यास नगरपालिकाभित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरूबीच ‘महर्षि वेदव्यास र व्यास जन्मभूमि’ विषयक वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिनेछ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना हुने विद्यार्थीलाई क्रमशः नगद ७ हजार, ५ हजार, ३ हजार र १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

साउन १३ गते बिहान अनसन चौतारीबाट बाजागाजासहित शोभायात्रा निकालिने, व्यास नगरपालिकास्थित महर्षि व्यासको पूर्णकदको शालिकमा माल्यार्पण तथा पूजा–अर्चना गरिने र व्यास गुफामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विद्वान्हरूबाट विशेष प्रवचन कार्यक्रम आयोजना गरिने छ।















