प्रहार समाचार । काठमाडौं, ९ साउन २०८३ शनिबार । प्रदेश सरकारमा देखिएको अस्थिरता अन्त्य गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच सहमति भएको छ। दुई दलले प्रदेश सभामा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने निर्णय गरेका छन्। बजेट निर्माणमा देखिएको असमझदारी र बजेटविहीनताको अवस्था अन्त्य गर्ने सहमतिको उद्देश्य रहेको जनाइएको छ।

सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ। दुई दलले प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने सहमति गरेका छन्।मधेस र गण्डकी प्रदेशको नेतृत्व भने तत्काल टुंगो लागेको छैन। यी प्रदेशमा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरिने भएको छ।
त्यसपछि सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमतिमा उल्लेख छ।सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्। आज भएको सहमतिले प्रदेशमा राजनीतिक स्थिरता, सुशासन, समृद्धि र विकासको गति बढाउने दाबी गरिएको छ।















