प्रहार समाचार । तनहुँ, ७ साउन २०८३ बिहीबार । तनहुँ प्रहरीले अवैध रूपमा प्राकृतिक स्रोत–साधन उत्खननमा संलग्न सवारी साधनमाथि कडाइ गर्दै चार वटा सवारी साधन नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अवैध ढुंगा उत्खनन तथा ओसारपसारमा संलग्न एक ट्याक्टर, एक स्काभेटर, एक जेसीभी र अर्को एक ट्याक्टरलाई नियन्त्रणमा लिएर सम्बन्धित स्थानीय तहमा कारबाहीका लागि पठाइएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा लोड गरिएको ढुंगासहित एक ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि व्यास नगरपालिकाको कार्यालय दमौली पठाएको थियो। उक्त सवारीलाई नगरपालिकाले १२ हजार रुपैयाँ जरिवाना गरेपछि छाडिएको प्रहरीले जनाएको छ।त्यसैगरी, इलाका प्रहरी कार्यालय बेलचौताराबाट विभिन्न मितिमा परिचालित प्रहरी टोलीले अवैध ढुंगा उत्खननमा प्रयोग भएका एक स्काभेटर, एक जेसीभी र एक ट्याक्टर नियन्त्रणमा लिई कारबाहीका लागि शुक्लागण्डकी नगरपालिकाको कार्यालय बेलचौतारा पठाएको थियो।

नगरपालिकाले ती सवारी साधनलाई एकमुष्ट ६२ हजार रुपैयाँ जरिवाना गरेपछि मात्रै छाडिएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले प्राकृतिक स्रोत–साधनको अवैध दोहन रोक्न प्रहरीको अनुगमन तथा नियन्त्रण अभियान निरन्तर जारी रहने बताए। उनले कानुनविपरीत नदीजन्य तथा अन्य प्राकृतिक स्रोतको उत्खनन, ओसारपसार वा संकलन गर्ने जो–कोहीमाथि कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिएका छन्।
















