प्रहार समाचार । तनहुँ, ७ साउन २०८३ बिहीबार । जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी सेवा लिन आउने सेवाग्राहीको अत्यधिक चाप बढेपछि सेवा समय विस्तार गरेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै भोलि साउन ८ गतेदेखि बिहान ८:०० बजेदेखि साँझ ६:०० बजेसम्म सेवा सञ्चालन गरिने जनाएको हो। चालु आर्थिक वर्षको सुरुवातसँगै फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीको संख्या अस्वाभाविक रूपमा बढेपछि प्रशासनले यस्तो व्यवस्था गर्न बाध्य भएको जनाएको छ। तस्बिरहरु : प्रहार अनलाईन मिडिया ।

कार्यालयले सेवाग्राहीलाई टोकन प्रणालीअनुसार आफ्नो पालोमा धैर्यपूर्वक बस्न आग्रह गरेको छ। सूचनामा भनिएको छ कि भीड व्यवस्थापनका लागि सेवा समय लम्ब्याइएको भए पनि पालोभन्दा बाहिर दबाब सिर्जना गर्ने वा अनावश्यक भीडभाड गर्ने कार्य नगर्न अनुरोध गरिएको छ। प्रशासनले राष्ट्रिय परिचयपत्र सेवा व्यवस्थित ढंगले सञ्चालन गर्न सबै सेवाग्राहीको सहयोग आवश्यक रहेको स्पष्ट पारेको छ। जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवा ग्राहीहरुको आज लागेको भिड :




प्रशासनले फोटो खिचाइसकेपछि राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त हुने तर विभागीय सिस्टम अपग्रेडका कारण ‘Approve’ हुन ढिलाइ भइरहेको जनाएको छ। यस्तो अवस्थामा सम्बन्धित विवरण क्रमशः स्वीकृत हुँदै जाने भएकाले ‘Approve’ भयो कि भएन भनेर पटक–पटक जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने कार्यालयले स्पष्ट गरेको छ। त्यस्तै, राष्ट्रिय परिचयपत्र कार्ड जारी भइसकेको तर कार्ड हातमा नपुगेका र नम्बर प्राप्त गरिसकेका सेवाग्राहीका लागि पनि प्रशासनले छुट्टै आग्रह गरेको छ।

सूचनाअनुसार त्यस्ता सेवाग्राहीको आवश्यक काम राष्ट्रिय परिचयपत्र नम्बरबाटै हुने भएकाले केही दिनका लागि कार्यालयमाअनावश्यक रूपमा उपस्थित भई भीड बढाउन आवश्यक छैन।जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृतद्वारा जारी उक्त सूचना साउन ७ गते सार्वजनिक गरिएको हो। प्रशासनले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाहमा असहजता देखिए पनि सेवा निरन्तर सञ्चालनमा रहेको भन्दै सेवाग्राहीलाई संयमित र व्यवस्थित रूपमा सेवा लिन आग्रह गरेको छ।















