हेडलाईनव्याससमाचारगण्डकीसाहित्य

व्यास अवतरण तथा गुरु पूर्णिमा दिवस : व्यास जन्मभूमिमा तीनदिने विशेष कार्यक्रम गरि मनाइदैं

प्रहार समाचार । तनहुँ, ७ साउन २०८३ बिहीबार । व्यास अवतरण तथा गुरु पूर्णिमा दिवसको अवसरमा व्यास जन्मभूमिमा तीन दिनसम्म विविध धार्मिक, सांस्कृतिक तथा बौद्धिक कार्यक्रम आयोजना गरिने भएको छ। व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषले दपौलीमा आज पत्रकार सम्मेलनमार्फत साउन ११ देखि १३ गतेसम्म सञ्चालन हुने कार्यक्रमको सार्वजनिक गर्दै महर्षि वेदव्यासको योगदान, संस्कृत भाषा, सनातन संस्कृति तथा व्यास जन्मभूमिको ऐतिहासिक महत्वलाई नयाँ पुस्तामाझ स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।

कोषका अध्यक्ष प्रेमप्रकाश भट्टराईले व्यास अवतरण तथा गुरु पूर्णिमा दिवस केवल धार्मिक पर्व नभई ज्ञान, दर्शन, सभ्यता र संस्कृतिको संरक्षणसँग जोडिएको महत्वपूर्ण अवसर भएको बताए। उनका अनुसार साउन ११ गते व्यास गुफास्थित सभा हलमा संस्कृत भाषाका लेख–रचनाहरू वाचन तथा महर्षि वेदव्यासको जीवन, कृतित्व र योगदानबारे प्रवचन कार्यक्रम सञ्चालन गरिनेछ। यस प्रकारका कार्यक्रमले संस्कृत भाषा र वैदिक परम्पराप्रति युवापुस्ताको आकर्षण बढाउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रमअन्तर्गत साउन १२ गते व्यास नगरपालिकाभित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरूबीच ‘महर्षि वेदव्यास र व्यास जन्मभूमि’ विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितामा प्रथम हुनेलाई नगद ७ हजार रुपैयाँ, द्वितीयलाई ५ हजार, तृतीयलाई ३ हजार तथा सान्त्वना हुनेलाई १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामार्फत विद्यार्थीहरूमा व्यास जन्मभूमिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वबारे अध्ययन र अनुसन्धान गर्ने प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। समापनका रूपमा साउन १३ गते बिहान ७ बजे अनसन चौतारीबाट बाजागाजा र झाँकीसहित शोभायात्रा निकालिने छ। व्यास नगरपालिका परिसरमा रहेको महर्षि व्यासको पूर्णकदको शालिकमा माल्यार्पण तथा पूजा–अर्चना गरिने, त्यसपछि बजार परिक्रमा गर्दै व्यास गुफास्थित सभा हलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विद्वान्हरूबाट विशेष प्रवचन कार्यक्रम सञ्चालन गरिने कार्यक्रम रहेको छ। व्यासका अध्येता एवं संरक्षक काशीनाथ न्यौपानेले व्यास जन्मभूमिको ऐतिहासिक पहिचान संरक्षण र विश्वसामु यसको महत्व उजागर गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे।

पत्रकार सम्मेलनको सहजीकरण कोषका महासचिव विष्णुभक्त सिग्देलले गरेका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपति अधिकारी, पूर्व अध्यक्ष ओमकार आचार्य, पूर्व उपाध्यक्ष शंकरराज नहर्की तथा पत्रकारहरू मदन वाग्ले, विकास खनाल, प्रतापसिंह अधिकारीलगायतले व्यास जन्मभूमिको संरक्षण, प्रचार–प्रसार तथा धार्मिक पर्यटन प्रवर्द्धनमा सबै पक्षको साझा पहल आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रममा कोषका पदाधिकारी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button