प्रहार समाचार । तनहुँ, ५ साउन २०८३ मंगलबार । तनहुँको व्यास नगरपालिका–७ कलेस्ती पुलस्थित दमौली–भोर्लेटार भित्री सडकखण्डमा आज दिउसो ३ः१५ बजे यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। कलेस्तीबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ६४६५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा बस कलेस्ती खोलाको पुलमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक २६ वर्षीय शम्शेर परियार चालक सिटमै च्यापिएर गम्भीर घाइते भएका थिए । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरीसहित १७ जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले चालकलाई उद्धार गरी तत्काल उपचारका लागि अस्पताल पठाएको थियो। बसमा करिब २५ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि केहीबेर अवरुद्ध भएको सडक हाल पूर्ण रूपमा सञ्चालनमा आएको छ भने दुर्घटनाग्रस्त बस हटाउने काम जारी रहेको छ। दुर्घटनामा गम्भीर घाइते चालक शम्शेर परियारको छाती, टाउको, घाँटी र बायाँ खुट्टामा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा भए पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको रत्नहरि अस्पताल, तनहुँमा उपचार भइरहेको छ। घाइतेमध्ये श्रीमाया परियार, शान्ता गौतम, निरा गौतम, सुस्मिता शाही, चन्द्रमाया गुरुङ, अनिता गुरुङ, बिन्दु गुरुङ, स्वस्तिकला खनाल, सुजिता पौडेल, सान्भि गिरि, दिपा खान, सीता नेपाली, हिरा मल्ल, नुनिमाया थापा, लक्ष्मी शाही र श्रीमान बुढा रहेका छन्।

अधिकांशको निधार, हात, खुट्टा, मुख तथा अनुहारमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। घाइते सबैको उपचार जारी रहेको र घटनास्थलको अवस्था सामान्य बनाउँदै सवारीसाधन सुरक्षित रूपमा हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनाले पुनः सडक सुरक्षामा गम्भीर प्रश्न उठाएको भन्दै स्थानीयले भित्री सडकखण्डमा सवारी सञ्चालन गर्दा विशेष सावधानी अपनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।















