हेडलाईनसमाचारगण्डकीविजनेस

लमजुङको क्व्होलासोथार गा.पा. द्वारा घरबासलाई खाटदेखि सिरानीसम्म सहयोग

• विजय अधिकारी (प्रहार संवाददाता) लमजुङ, ५ साउन २०८३ । पर्यटकीय गाउँ भुजुङमा बढ्दो पर्यटक आगमनसँगै घरबास सेवाको गुणस्तर सुधार गर्ने उद्देश्यले क्व्होलासोथार गाउँपालिकाले घरबास सञ्चालकलाई खाट, बेड, सिरक, सिरानीलगायत आवश्यक सामग्री वितरण गरेको छ। गाउँपालिकाले घरबासलाई व्यवस्थित, सुरक्षित र पर्यटकमैत्री बनाउने अभियानअन्तर्गत पहिलो चरणमा माग गरेका आठ वटा घरबासलाई सामग्री उपलब्ध गराएको जनाएको छ।

भुजुङमा हाल ३३ घरमा घरबास सञ्चालनमा रहे पनि यस चरणमा सीमित घरबासले मात्रै सहयोग पाएका छन्। वडा नं. ४ का अध्यक्ष नारायण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा उपाध्यक्ष गमीमाया गुरुङ, गाउँकार्यपालिका सदस्य हेमन्ता गुरुङ, वडा सदस्य टिकबहादुर गुरुङ, कोपिला सार्की तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा घरबासलाई आवश्यक सामग्री हस्तान्तरण गर्दै स्थानीय पर्यटनलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ।कार्यक्रममा अध्यक्ष गुरुङले पछिल्ला वर्षहरूमा भुजुङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा बढिरहेको उल्लेख गर्दै पर्यटकलाई आकर्षित गर्नु मात्रै पर्याप्त नहुने बताए।

उनले खानपान, सरसफाइ, बसाइ र आतिथ्य सेवाको गुणस्तर सुधार नगरे पर्यटनको दिगोपनामा असर पर्ने भएकाले घरबासलाई थप सहज, व्यवस्थित र आरामदायी बनाउन सामग्री सहयोग गरिएको स्पष्ट पारे। उपाध्यक्ष गमीमाया गुरुङले घरबास स्थानीयको आयआर्जनको महत्वपूर्ण आधार बनेको भन्दै यसको दिगो विकासका लागि गाउँपालिकाको सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन्।

समुद्री सतहदेखि करिब एक हजार ६ सय ५० मिटर उचाइमा रहेको भुजुङ गाउँ लमजुङ सदरमुकाम बेंसीशहरबाट करिब ३२ किलोमिटर दूरीमा पर्छ। बेंसीशहरबाट सवारी साधनमार्फत करिब डेढदेखि दुई घण्टामा पुग्न सकिने यो गाउँ प्राकृतिक, सांस्कृतिक तथा गुरुङ समुदायको मौलिक जीवनशैलीका कारण पर्यटकको रोजाइमा पर्दै आएको छ। गाउँपालिकाले घरबास सेवाको स्तरवृद्धिका लागि थालेको यो पहलले स्थानीय पर्यटन प्रवर्द्धनसँगै ग्रामीण अर्थतन्त्रलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button