हेडलाईनसमाचारबागमती

आजको मौसम : १२ जिल्लामा आकस्मिक बाढीको जोखिम, नदी किनारमा उच्च सतर्कता आवश्यक

प्रहार समाचार । काठमाडौं, ५ साउन २०८३ मंगलबार । मनसुनी वर्षा निरन्तर सक्रिय भइरहेका बेला देशका १२ जिल्लामा आज आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान सार्वजनिक भएको छ। बाढी पूर्वानुमान महाशाखाले झापा, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, जाजरकोट, दैलेख, कालीकोट, डोटी, डडेलधुरा, बैतडी लगायतका जिल्लामा बहने साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने जनाएको छ। तस्बिर : सामाजिक संञ्जाल

विगतका वर्षहरूमा पूर्वसूचना बेवास्ता गर्दा मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको अनुभवलाई स्मरण गर्दै महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।महाशाखाका अनुसार जोखिमको संकेत देखिए पनि धेरै स्थानमा नदी किनार, खोला आसपास र पहिरोको उच्च जोखिम भएका क्षेत्रमा सावधानी अपनाउने संस्कार अझै कमजोर देखिन्छ। पूर्वसूचना जारी भइरहेका बेला स्थानीय तह, सुरक्षा निकाय र विपद् व्यवस्थापन संयन्त्रले समयमै तयारी नगरे सामान्य वर्षाले पनि ठूलो विपत्ति निम्त्याउन सक्ने जोखिम रहेको विज्ञहरू बताउँछन्। त्यसैले पूर्वानुमानलाई औपचारिक सूचना मात्र नभई सम्भावित जोखिम टार्ने अवसरका रूपमा लिनुपर्ने आवश्यकता देखिएको छ।

यता, आज बिहानसम्मको मापनअनुसार कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली तथा तिनका सहायक नदी, कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि निरन्तर वर्षाका कारण बहाव अचानक बढ्न सक्ने सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ। विशेषगरी साना नदी र खोलाहरूमा केही घण्टामै पानीको सतह तीव्र रूपमा बढ्न सक्ने भएकाले नदी तर्ने, माछा मार्ने वा नदी किनारमा बसोबास गर्ने नागरिकलाई उच्च सावधानी अपनाउन आग्रह गरिएको छ।

हाल देशभर मनसुनी वायु सक्रिय रहेको र मनसुनको न्यूनचापीय रेखा औसत स्थानमै रहेकाले आगामी घण्टाहरूमा पनि धेरै स्थानमा वर्षा जारी रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विपद् आउँदा मात्रै सक्रिय हुने होइन, जोखिम आउनुअघि नै तयारी गर्नु नै सबैभन्दा प्रभावकारी सुरक्षा उपाय भएकाले स्थानीय सरकार, सम्बन्धित निकाय र नागरिक सबैले पूर्वसूचनालाई गम्भीर रूपमा लिएर आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button