हेडलाईनसमाचारगण्डकी

स्वकीय सचिवको तलबदेखि आफ्नै तलबसम्म जनहितमा खर्च गर्ने तनहुँ क्षेत्र नम्बर २ का सांसद न्यौपानेको प्रतिबद्धता

प्रहार समाचार । तनहुँ, ४ साउन २०८३ सोमबार । प्रतिनिधिसभा सदस्य ई. श्रीराम न्यौपानेले स्वकीय सचिवको पारिश्रमिक व्यवस्थापनदेखि आफूले राज्यबाट प्राप्त गर्ने तलब–भत्ताको उपयोगसम्मका विषय सार्वजनिक गर्दै आफूले व्यक्तिगत लाभभन्दा जनहितलाई प्राथमिकतामा राखेको दाबी गरेका छन्। सोमबार जारी प्रेस विज्ञप्तिमार्फत उनले निर्वाचनअघि आफ्नै स्रोतबाट स्वकीय सचिवको पारिश्रमिक उपलब्ध गराउँदै आएको र अब सरकारले उपलब्ध गराउने सुविधा कार्यान्वयन भएपछि स्वकीय सचिवले सो तलब–भत्ता स्वयं बुझ्ने व्यवस्था गरिएको जानकारी दिएका छन्।

न्यौपानेले यसअघि स्वकीय सचिवलाई उपलब्ध गराउँदै आएको पारिश्रमिक बराबरको रकम अबदेखि आफ्नो व्यक्तिगत आम्दानीबाट तनहुँ–१ का जनताको आवश्यकता, प्राथमिकता र सामाजिक तथा जनसेवामूलक कार्यमा खर्च गर्ने निर्णय गरेको उल्लेख गरेका छन्। त्यस्तै, प्रतिनिधिसभा सदस्यका रूपमा राज्यबाट प्राप्त हुने आफ्नो तलब–भत्ता भने यसअघिजस्तै तनहुँ–२ का जनहित, आवश्यकता र प्राथमिकताका क्षेत्रमा खर्च गरिरहने प्रतिबद्धता दोहोर्‍याएका छन्। राज्यकोषबाट प्राप्त सुविधा व्यक्तिगत लाभका लागि नभई जनउत्तरदायित्व र सार्वजनिक हितमा सदुपयोग गर्ने आफ्नो अडान कायम रहने उनको भनाइ छ।

विज्ञप्तिमा न्यौपानेले विगतमा सार्वजनिक गरेका विभिन्न प्रतिबद्धता पनि पुनः स्मरण गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुअघि कुनै सरकारी ठेक्का नलिने घोषणा गरी त्यसलाई पालना गर्दै आएको, गत निर्वाचनमा कुनै व्यक्ति वा संस्थाबाट आर्थिक सहयोग नलिई चुनाव लडेको, निर्वाचित भएपछि आफ्नो तलब–भत्ता जनहितमा खर्च गर्दै आएको तथा प्रत्येक तीन महिनामा स्थानीय तहमा पुगेर जनसंवाद कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताएका छन्। साथै, अब उप्रान्त कुनै पनि निर्वाचनमा उम्मेदवारी नदिने निर्णय यसअघि नै सार्वजनिक गरिसकेको पनि उल्लेख गरेका छन्। त्यसैगरी, तनहुँ जिल्लामा अधिकतम पुँजीगत खर्च सुनिश्चित गर्ने उद्देश्यसहित आगामी श्रावण महिनादेखि प्रत्येक तीन–तीन महिनामा प्रगति विवरण सार्वजनिक गर्ने र आवश्यकता अनुसार विकास आयोजनाको अनुगमन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्। आफूले सार्वजनिक गरेका सबै प्रतिबद्धता इमानदारी, पारदर्शिता र जनउत्तरदायित्वका साथ कार्यान्वयन गर्दै आएको दाबी गर्दै न्यौपानेले जनताको सेवामा समर्पित रहनु नै आफ्नो प्रमुख दायित्व रहेको बताएका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button