हेडलाईनसमाचारगण्डकी

निर्माण सकिएको केही दिनमै फल्चा ढल्यो : राइनासमा गुणस्तर, अनुगमन र जिम्मेवारीमाथि गम्भीर प्रश्न

• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, ४ साउन २०८३ सोमबार । लमजुङको राइनास नगरपालिका–४ सातबिसेमा सार्वजनिक बजेटबाट निर्माणाधीन फल्चा निर्माण सम्पन्न भएको केही दिनमै ढलेपछि निर्माणको गुणस्तर, प्राविधिक मापदण्ड र सरकारी अनुगमनमाथि गम्भीर प्रश्न उठेको छ। स्थानीयवासीले लाखौं रुपैयाँ खर्च गरेर निर्माण गरिएको संरचना यति छोटो समयमै ढल्नु सामान्य घटना नभई निर्माण प्रक्रियामै गम्भीर कमजोरी भएको संकेत भएको बताएका छन्।

उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्। सातबिसेको पुरानो चौतारो हटाएर वडा कार्यालय, नगरपालिका तथा सम्बन्धित प्राविधिक निकायको स्वीकृतिमा नयाँ फल्चा निर्माण गरिएको थियो। उक्त चौतारो गाउँका ज्येष्ठ नागरिक तथा स्थानीयवासी भेला हुने, सुख–दुःख साटासाट गर्ने, शीतल हावा खाने र केहीबेर विश्राम गर्ने साझा सार्वजनिक स्थलका रूपमा परिचित थियो। तर नयाँ संरचना निर्माण सम्पन्न भएको केही दिनमै भत्किएपछि स्थानीयले विकास निर्माणको नाममा गुणस्तरमाथि खेलबाड भएको आशंका व्यक्त गरेका छन्। स्थानीयका अनुसार निर्माण कार्य स्वीकृत प्राविधिक मापदण्ड, गुणस्तरीय सामग्री र प्रभावकारी सुपरिवेक्षणअनुसार भएको भए यति छोटो अवधिमै संरचना ढल्ने अवस्था आउने थिएन।

उनीहरूले निर्माण सामग्रीको गुणस्तर, कार्यान्वयन प्रक्रिया, प्राविधिक सुपरिवेक्षण तथा सम्बन्धित निकायको अनुगमन प्रभावकारी थियो कि थिएन भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। सार्वजनिक धन खर्चिएर निर्माण गरिएका संरचनाको यस्तो अवस्था आउनु सम्बन्धित निकायको जवाफदेहितामाथि पनि प्रश्न उठाउने विषय भएको उनीहरूको भनाइ छ।स्थानीयले घटनालाई सामान्य रूपमा नलिई तत्काल प्राविधिक परीक्षण गरी वास्तविक कारण सार्वजनिक गर्न, निर्माणमा लापरबाही वा कमजोरी पुष्टि भए जिम्मेवार व्यक्ति, निर्माण कम्पनी वा सम्बन्धित पक्षलाई कानुनी दायरामा ल्याउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन कडा अनुगमन प्रणाली लागू गर्न माग गरेका छन्। सार्वजनिक बजेटको दुरुपयोग र कमजोर निर्माण संस्कृतिमाथि नियन्त्रण गर्न सम्बन्धित निकायले अब मौन बस्न नहुने भन्दै उनीहरूले तत्काल प्रभावकारी कदम चाल्न जोड दिएका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button