आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

३८ भूमिहीन सुकुम्बासीको विवरण प्रमाणित, लालपूर्जा वितरण प्रक्रियामा तनहुँको आँबुखैरेनी गाउँपालिका अगाडि

प्रहार समाचार । तनहुँ, ४ साउन २०८३ सोमबार । तनहुँको आँबुखैरेनी गाउँपालिकाले भूमिहीन सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउने प्रक्रियालाई अघि बढाउँदै वडा नं. १ देखि ६ सम्मका ३८ जना भूमिहीन सुकुम्बासी परिवारको विवरण प्रमाणित गरेको छ। गाउँकार्यपालिकाको मिति २०८३ साउन १ गते बसेको बैठकले उक्त निर्णय गर्दै लालपूर्जा वितरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन भूमि समस्या समाधान समिति तनहुँमा विवरण पठाएको हो।

गाउँपालिकाका अनुसार प्रमाणित गरिएका ३८ जना भूमिहीन सुकुम्बासीको विवरण अब भूमि समस्या समाधान समिति तनहुँमार्फत आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा भएपछि धनीपुर्जा वितरणतर्फ अघि बढाइनेछ। लामो समयदेखि भूमिको स्वामित्वबाट वञ्चित नागरिकलाई कानुनी रूपमा जग्गाको स्वामित्व दिलाउने उद्देश्यले गाउँपालिकाले प्रक्रिया अघि बढाएको जनाएको छ।गाउँपालिका अध्यक्ष शुक्र चुमान ले भूमिहीन परिवारलाई सम्पत्ति अधिकार, सम्मानित जीवन र सुरक्षित भविष्य प्रदान गर्ने प्रतिबद्धताअनुरूप काम भइरहेको बताएका छन्।

“भूमिहीनको हातमा धनीपुर्जा, समतामूलक समाजको ऊर्जा” भन्ने नीतिअनुसार सबै नागरिकलाई भूमि अधिकार सुनिश्चित गर्दै समावेशी विकास र समान अवसर प्रदान गर्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको अध्यक्ष चुमानको भनाइ छ। भूमि स्वामित्वको अभावका कारण वर्षौंदेखि विभिन्न सरकारी सेवा तथा आर्थिक अवसरबाट वञ्चित रहेका नागरिकका लागि यो निर्णय महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। गाउँपालिकाले पारदर्शी सेवा प्रवाह, नागरिकको अधिकार सुनिश्चित गर्ने तथा समृद्ध आँबुखैरेनी निर्माण गर्ने लक्ष्यसहित भूमि व्यवस्थापनका बाँकी प्रक्रियालाई समेत प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button