हेडलाईनसमाचारबागमती

पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य घट्यो

प्रहार समाचार । काठमाडौं, १७ असार २०८३ बुधबार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ। निगम सञ्चालक समितिको असार १६ गतेको निर्णयअनुसार बुधबार (असार १७) बिहान १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो ।

पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिन्डर १०० रुपैयाँ मूल्य घटाइएको हो। अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २६५ अमेरिकी डलरले मूल्य घटाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक–इभेन बिन्दुमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।निगमका अनुसार इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि स्वचालित मूल्य प्रणालीअनुसार खुद्रा बिक्री मूल्य समायोजन गरिएको हो। नयाँ खरिद मूल्यमा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेल २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धन २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासको मूल्य पनि घटेर आएको निगमले जनाएको छ।

नयाँ मूल्यसूचीअनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोल प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेल १९२ रुपैयाँ ५० पैसा कायम भएको छ। दोस्रो वर्गमा पेट्रोल १९६ रुपैयाँ र डिजेल/मट्टितेल १९४ रुपैयाँ तथा तेस्रो वर्गमा पेट्रोल १९७ रुपैयाँ र डिजेल/मट्टितेल १९५ रुपैयाँ निर्धारण गरिएको छ। आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम गरिएको छ। एलपी ग्यास १४.२ केजीको सिलिन्डर २ हजार ६० रुपैयाँ र ७.१ केजीको सिलिन्डर १ हजार ३० रुपैयाँमा बिक्री हुनेछ।निगमले पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई, दोस्रो वर्गमा सुर्खेत र दाङलाई तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायललाई समेटेको जनाएको छ। निगमका अनुसार नयाँ मूल्य बुधबार बिहान १२:०१ बजेदेखि देशभर लागू हुनेछ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button