• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, १६ असार २०८३ मंगलबार । नेपाली कांग्रेस लमजुङले पार्टीको विधान, अनुशासन र आचरणविपरीत गतिविधि गरेको निष्कर्ष निकाल्दै मध्यनेपाल नगरपालिका–७ का १० जना नेता तथा कार्यकर्तालाई साधारण सदस्यता समेत नरहने गरी कारबाही गरेको छ।

कारबाहीमा पूर्णचन्द्र पोखरेल, माधवप्रसाद घिमिरे, चन्द्रकला घिमिरे, युवराज घिमिरे, नेत्रबहादुर केसी, धनबहादुर विक, राधाकृष्ण घिमिरे, कर्णबहादुर केसी, रविचन्द्र घिमिरे र लक्ष्मण विक परेका छन्। जिल्ला कार्यसमितिका पदाधिकारी तथा पालिका सभापतिहरूको संयुक्त बैठकले मध्यनेपाल नगरपालिका–७ वडा कार्यसमिति तथा सो क्षेत्रका जिल्ला पदाधिकारी र सदस्यहरूको संयुक्त बैठकबाट प्राप्त सिफारिस अनुमोदन गर्दै कारबाहीको निर्णय गरेको हो। जिल्ला सचिव कृष्णबहादुर अधिकारीका अनुसार पार्टी अनुशासन कायम राख्ने उद्देश्यले उक्त निर्णय गरिएको हो।

सचिव अधिकारीले कारबाहीमा परेका सबै व्यक्तिको नेपाली कांग्रेसको साधारण सदस्यता समेत खारेज गरिएको जानकारी दिँदै अब उनीहरूले गर्ने कुनै पनि गतिविधिप्रति नेपाली कांग्रेस लमजुङ जिम्मेवार नहुने स्पष्ट पारे। साथै कारबाहीमा परेका व्यक्तिमध्ये कोही नेपाली कांग्रेसको टिकटबाट निर्वाचित जनप्रतिनिधि भए प्रचलित कानुनी व्यवस्थाअनुसार सम्बन्धित पद स्वतः रिक्त हुने विषयमा सम्बन्धित निकायलाई समेत जानकारी गराइएको उनले बताए।
नेपाली कांग्रेस लमजुङले उक्त निर्णयको बोधार्थ नेपाली कांग्रेस केन्द्रीय कार्यालय, नेपाली कांग्रेस मध्यनेपाल नगरपालिका समिति, मध्यनेपाल नगरपालिका कार्यालय तथा वडा नम्बर–७ को कार्यालयमा पठाइसकेको जनाएको छ। जिल्लामा एकैपटक १० जना नेता तथा कार्यकर्तामाथि साधारण सदस्यता नै खारेज हुने गरी गरिएको यो कारबाहीलाई कांग्रेस लमजुङको पछिल्लो समयकै सबैभन्दा कडा अनुशासनात्मक कदमका रूपमा हेरिएको छ।





















