प्रहार समाचार । काठमाडौं, ८ असार २०८३ सोमबार । प्रधानमन्त्री बालेन शाहले नेपालको पूर्वी हिमाली क्षेत्रमा अवस्थित मकालु–बरुण उपत्यकाको प्राकृतिक सौन्दर्य, जैविक विविधता र हिमाली सम्पदालाई उजागर गर्दै मकालु बेस क्याम्प ट्रेकबारे सन्देशमूलक पोस्ट सार्वजनिक गरेका छन्। उनले विश्वकै आकर्षक तथा चुनौतीपूर्ण पदमार्गमध्ये एक मानिने मकालु बेस क्याम्प ट्रेकले नेपालको हिमाली पर्यटनलाई नयाँ उचाइमा पुर्याउन सक्ने उल्लेख गरेका छन्।


प्रधानमन्त्री शाहले सार्वजनिक गरेको पोस्टमा मकालु–बरुण उपत्यकालाई पूर्वी नेपालको दुर्गम तर स्वर्गीय गन्तव्यका रूपमा चित्रण गरिएको छ। १७ देखि १८ दिनसम्मको यस पदयात्रामा सहभागीहरूले स्थानीय संस्कृति, हरियाली वन, दुर्लभ वन्यजन्तु, हिमाली भू–दृश्य तथा विश्वको पाँचौँ अग्लो हिमाल मकालुको काखसम्म पुग्ने अवसर प्राप्त गर्ने जनाइएको छ। ट्रेकको अधिकतम उचाइ ४ हजार ८७० मिटर रहेको र यो यात्रा साहसिक पदयात्रुका लागि उपयुक्त रहेको उल्लेख गरिएको छ।पोस्टमा काठमाडौंबाट तुम्लिङटार हुँदै नुम, सेदुवा, ताशिगाउँ, खोंग्मा डाँडा, दोबाटो, याङ्ग्ले खर्क, शिवधारा, लाङ्माले खर्क हुँदै मकालु बेस क्याम्प पुग्ने विस्तृत यात्रा तालिका समेटिएको छ।


यात्राका क्रममा मकालु–बरुण राष्ट्रिय निकुञ्ज, रमणीय बरुण उपत्यका, पवित्र शिवधारा झरना तथा हिमशृंखलाका मनमोहक दृश्यहरू अवलोकन गर्न सकिने जानकारी दिइएको छ।प्रधानमन्त्री शाहले नेपालको प्राकृतिक सम्पदा र दुर्गम हिमाली क्षेत्रलाई विश्वसामु चिनाउन तथा आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्न यस्ता पदयात्रा गन्तव्यहरूको प्रचार–प्रसार आवश्यक रहेको बताएका छन्। उनले प्रकृतिप्रेमी, साहसिक पर्यटक तथा पदयात्रामा रुचि राख्नेहरूलाई मकालु बेस क्याम्प ट्रेकलाई आफ्नो आगामी गन्तव्य बनाउन आग्रह गर्दै नेपालको पर्यटन विकासमा सबैको साझा योगदान आवश्यक रहेको सन्देश दिएका छन्।























