प्रहार समाचार । तनहुँ, ८ असार २०८३ सोमबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनमा तनहुँका नेताहरूको सक्रियता बढेको छ। हिंजो देखि ९ गतेसम्म चितवनको भरतपुरमा भइरहेको महाधिवेशनमा तनहुँसँग जोडिएका नेता तथा पार्टीका प्रभावशाली व्यक्तित्वहरूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। उम्मेदवारी घोषणा गर्नेहरूमा तनहुँ क्षेत्रनम्बर १ का सांसद अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, तनहुँका संस्थापक सभापति विकास सिग्देल, तनहुँ क्षेत्र नम्बर २ का सांसद ई. श्रीराम न्यौपाने र मेडिकल व्यवसायी राजु दाहाल रहेका छन्। सांसद स्वर्णिम वाग्लेले “नेतृत्वको इच्छाशक्ति, युवाको जनशक्ति, राष्ट्रको बलशक्ति रास्वपाको मूल शक्ति” भन्ने नारासहित केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

पार्टीभित्र वैचारिक नेतृत्व, संगठन सुदृढीकरण र वैकल्पिक राजनीतिको अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उनले उम्मेदवारी दिएको जनाइएको छ। त्यसैगरी तनहुँका विकास सिग्देलले राष्ट्रियता, लोकतन्त्र र सुशासनको एजेन्डालाई अघि बढाउने प्रतिबद्धतासहित केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। गण्डकी प्रदेश भूगोलबाट तनहु क्षेत्रनम्बर २ का सांसद ई. श्रीराम न्यौपाने र राजु दाहालले पनि केन्द्रीय सदस्य पदमा दाबी प्रस्तुत गरेका छन्।
उनीहरूले संगठन विस्तार, जनउत्तरदायी नेतृत्व र पार्टीलाई थप मजबुत बनाउने लक्ष्यसहित महाधिवेशनमा प्रतिस्पर्धा गर्ने बताएका छन्। यस्तै, हाल केन्द्रीय श्रम विभाग सदस्य रहेका नुर मोहम्मद मियाँले मुस्लिम क्लस्टरतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। महाधिवेशनबाट नेतृत्वचयनको बाटो नजिकिँदै जाँदा विभिन्न तहका नेताहरूले उम्मेदवारी सार्वजनिक गर्ने क्रम बढेको छ भने तनहुँका नेताहरूको सक्रिय उपस्थितिले यसपटकको महाधिवेशनमा जिल्लाको प्रभावसमेत उल्लेख्य रहने संकेत देखिएको छ।




















