प्रहार समाचार । तनहुँ,, ७ असार २०८३ आइतबार । बिहानको समयमा बढ्दै गइरहेको सवारी दुर्घटनालाई नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले पोखरा–मुग्लिङ सडकखण्डमा संयुक्त रूपमा चालक सचेतना कार्यक्रम लाई आज पनि निरन्तरता दिएका छन्। दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्रा सुनिश्चित गर्ने लक्ष्यसहित बिहान उक्त कार्यक्रमलाई निरन्तरता दिइएको हो।

कार्यक्रमका क्रममा प्रहरी टोलीले विभिन्न सवारी साधनका चालकलाई सडकको अवस्था, लेन अनुशासन, सुरक्षित गति तथा ट्राफिक नियमको पालनासम्बन्धी जानकारी गराउँदै सचेतना प्रदान गरेको थियो। चालकको सानो लापरबाहीले समेत ठूला दुर्घटना निम्त्याउन सक्ने भएकाले नियम पालना गर्न विशेष आग्रह गरिएको प्रहरीले जनाएको छ। सचेतना कार्यक्रममा ३५ वटा दुई पाङ्ग्रे सवारी साधन, ४० वटा चार पाङ्ग्रे साना सवारी साधन तथा ६८ वटा ठूला सवारी साधनका चालकलाई सम्झाइबुझाइ गरिएको थियो। यसरी एकै दिन १ सय ४३ जना चालकलाई प्रत्यक्ष रूपमा ट्राफिक सचेतना प्रदान गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार दुर्घटनाको जोखिम बढी देखिएको समय र स्थानलाई लक्षित गरी यस्ता सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ। सुरक्षित सडक र जिम्मेवार चालक नै दुर्घटना न्यूनीकरणको मुख्य आधार भएकाले सबैलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरिएको छ।





















