हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको व्यास नगरद्वारा आगामी नगरसभाका लागि नीति, बजेट र चार विधेयक स्वीकृत

प्रहार समाचार । तनहुँ, ६ असार २०८३ शनिबार । तनहुँको व्यास नगरपालिकाको नगर कार्यपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम, बजेट र महत्वपूर्ण विधेयकहरू नगरसभामा पेश गर्ने बाटो खुला गरेको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न २४०औँ कार्यपालिका बैठकले नीति, कार्यक्रम र बजेटमाथि छलफल गरी आवश्यक संशोधनसहित नगरसभामा पेश गर्ने निर्णय गरेको हो।

 

बैठकले यसअघि सम्पन्न २३९औँ कार्यपालिका बैठकका निर्णयहरूको समीक्षा गर्नुका साथै संघीय सरकार र गण्डकी प्रदेश सरकारबाट व्यास नगरपालिकाका लागि प्रस्तावित योजनाबारे जानकारी लिएको छ। आगामी आर्थिक वर्षका विकास योजना र कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने विषयमा समेत बैठकमा छलफल भएको जनाइएको छ। आर्थिक वर्ष २०८३/०८४ का लागि नगरसभामा पेश गरिने प्रस्तावित नीति तथा कार्यक्रममाथि विस्तृत छलफल गरी प्राप्त सुझावहरू समावेश गरेर अन्तिम रूप दिन नगर प्रमुख न्यौपानेलाई जिम्मेवारी दिइएको छ। त्यस्तै, प्रस्तावित आय–व्यय बजेट कार्यक्रममा आवश्यक संशोधन गरी नगरसभामा पेश गर्ने जिम्मेवारी नगर उपप्रमुख इन्दिरा दरैलाई प्रदान गरिएको छ।

बैठकले व्यास नगरपालिका आर्थिक विधेयक–२०८३, विनियोजन विधेयक–२०८३, व्यास नगर ऊर्जा विकास विधेयक–२०८३ तथा व्यास नगर ऊर्जा नीति–२०८३ लाई संशोधनसहित आगामी नगरसभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ। उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा शाखा–उपशाखा प्रमुखहरूको उपस्थितिमा सम्पन्न बैठकका निर्णयबारे नगर प्रवक्ता सुरेश थापाले जानकारी दिएका हुन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button