• विजय अधिकारी (प्रहार संवाददाता ) लमजुङ, ६ असार २०८३ शनिबार । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ देखि गाउँपालिकावासीलाई ५० युनिटसम्म विद्युत् महसुल निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ। “जलविद्युतको आम्दानी, उज्यालो मर्स्याङ्दीमा लगानी” कार्यक्रमअन्तर्गत ल्याइएको उक्त व्यवस्था शुक्रबार सम्पन्न २१औँ गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा समेटिएको हो।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले प्रत्येक घरधुरीले उपभोग गर्ने ५० युनिटसम्मको विद्युत् महसुल गाउँपालिकाले नै व्यहोर्ने जानकारी दिए। अध्यक्ष गुरुङका अनुसार गाउँपालिकाका नौवटै वडाका करिब चार हजार चार सय घरधुरी यस योजनाबाट प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। कार्यक्रम कार्यान्वयनका लागि करिब ५५ लाख रुपैयाँ बजेट प्रस्ताव गर्ने तयारी गरिएको छ। विद्युत् उपयोगको आधारमा अधिकांश घरधुरीलाई प्रत्यक्ष राहत पुग्ने विश्वास गाउँपालिकाले गरेको छ।

गाउँपालिका उपाध्यक्ष जुनामाया थापाले आगामी आर्थिक वर्षमा विद्युत् रोयल्टीबाट करिब चार करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको बताइन्। सोही आम्दानीलाई स्थानीय नागरिकको हितमा प्रयोग गर्दै जलविद्युत् आयोजनाबाट प्राप्त लाभ जनतासम्म पुर्याउने उद्देश्यले कार्यक्रम ल्याइएको उनको भनाइ छ। जलविद्युत्बाट प्राप्त आम्दानीलाई प्रत्यक्ष रूपमा जनकल्याणमा खर्च गर्ने गाउँपालिकाको नीति रहेको उनले स्पष्ट पारिन्।नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रका अनुसार मर्स्याङ्दी गाउँपालिकाका करिब चार हजार दुई सय ग्राहकमध्ये ९२ प्रतिशतले ५० युनिटभन्दा कम विद्युत् उपभोग गर्ने गरेका छन्।

यस आधारमा अधिकांश घरधुरीले पूर्ण रूपमा निःशुल्क विद्युत् सुविधा प्राप्त गर्नेछन्। हाल गाउँपालिकाभित्रका विभिन्न जलविद्युत् आयोजनाबाट करिब एक सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ भने थप दुई सय ५० मेगावाटभन्दा बढी क्षमताका आयोजना निर्माणाधीन छन्। उत्पादन र रोयल्टी आम्दानी बढ्दै जाँदा यस्ता जनमुखी कार्यक्रमलाई अझ विस्तार गर्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।





















