हेडलाईनसमाचारगण्डकीखेलकुद

गण्डकी प्रदेशस्तरीय हक्की प्रतियोगिता तनहुँमा सुरु

प्रहार समाचार । तनहुँ, ६ असार २०८३ शनिबार । “राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद” भन्ने मूल नारासहित प्रथम गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष फाइभ एस हक्की प्रतियोगिता तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सुरु भएको छ । जिल्ला हक्की संघ तनहुँको आयोजनामा सुरु भएको प्रतियोगितामा महिला र पुरुषतर्फ चार–चार टोलीको सहभागिता रहेको छ ।

 

प्रतियोगिताको उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिका–५ का वडा अध्यक्ष दीर्घबहादुर थापाले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै खेल क्षेत्रको विकास र विस्तारमा सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

उनले स्थानीय तहले खेल पूर्वाधार निर्माण र खेलाडी प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिने बताए ।जिल्ला हक्की संघ तनहुँका अध्यक्ष कविराज श्रेष्ठले गण्डकी प्रदेशमा हक्की खेलको विकास, विस्तार तथा नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । प्रतियोगिताले खेलाडीबीच अनुभव आदानप्रदानका साथै हक्की खेलप्रति युवाको आकर्षण बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेश हक्की संघ गण्डकीका अध्यक्ष दीपक थापाले प्रदेशमा हक्की खेलको सम्भावना बढ्दै गएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले खेलाडी उत्पादन र प्रतिस्पर्धात्मक क्षमताको विकासमा टेवा पुग्ने बताए । हक्की संघका केन्द्रीय सदस्य हित गुरुङले खेलकुद राष्ट्रको गौरवसँग जोडिएको क्षेत्र भएकाले यसको प्रवर्द्धनमा सबैको ध्यान जानुपर्ने जनाउँदै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button