• विजय अधिकारी ( संवाददाता ) लमजुङ, ६ असार २०८३ शनिबार । लमजुडको बेँसीशहर नगरपालिकाले “उत्कृष्टताको सम्मान, गुणस्तरीय शिक्षाको अभियान, प्रतिभाको कदर शिक्षाको थप उन्नति र समृद्धिको आधार” भन्ने मूल नारासहित शैक्षिक सत्र २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विषयगत शिक्षकलाई सम्मान गरेको छ । नगरपालिकाले आधारभूत तहस्तरीय परीक्षा (कक्षा ८), माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षामा नगरस्तरमा उत्कृष्ट जीपीए प्राप्त गर्ने सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी र शिक्षकलाई सम्मान गरेको हो ।

नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका सहायक शिक्षा अधिकृत सिर्जना पाण्डे चिलुवालका अनुसार उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्रा तथा विषयगत शिक्षकसहित ४२ जनालाई सम्मान गरिएको छ । शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्दै विद्यार्थी र शिक्षकको योगदानको कदर गर्न सम्मान कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।




चिलुवालले सम्मान कार्यक्रमले शिक्षण–सिकाइ प्रक्रियामा थप उत्साह, प्रतिस्पर्धात्मक भावना र शैक्षिक गुणस्तर अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन् । उनले प्रतिभाको पहिचान र सम्मानमार्फत विद्यालय शिक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यअनुसार आगामी वर्षहरूमा पनि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा शिक्षकलाई सम्मान र प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिइन् ।


नगर प्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख पद्मा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, सामाजिक विकास समितिका संयोजक मदनबहादुर राना, प्रवक्ता हिरालाल विक, शिक्षा समिति सदस्यहरू बेनबहादुर सुँयल, उद्धव घिमिरे र डिना अधिकारी, सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालाको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण शिक्षा, युवा तथा खेलकुद शाखाका सहायक शिक्षा अधिकृत सिर्जना पाण्डे चिलुवालले गरेकी थिइन् ।




















