प्रहार समाचार । तनहुँ, ६ असार २०८३ शनिबार । तनहुँको भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामेको घरमा गए राति चोरीको प्रयास भएको छ। घरमा कोही नभएको मौका पारेर अज्ञात व्यक्तिले मूल ढोकाको ताला तोड्ने प्रयास गरेको पाइएको हो। घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ भने सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठ्न थालेको छ।

उपप्रमुख गोतामेको घरको ढोकामा लगाइएको ताला फुटाइएको अवस्थामा फेला परेको बताइएको छ। घरभित्र प्रवेश गर्ने प्रयास भए पनि कुनै सामान चोरी भएको वा नभएको विषयमा विस्तृत विवरण आउन बाँकी रहेको छ। यसअघि पनि सोही क्षेत्रमा यस्तै प्रकृतिका शंकास्पद गतिविधि भएको स्थानीयले बताएका छन्।
पछिल्लो समय घरमा कोही नभएको अवस्थालाई लक्षित गर्दै ढोका फोर्ने, नगद तथा सुनचाँदीका गहना खोज्ने र ती नपाए घरायसी सरसामानसमेत चोरी गर्ने गिरोह सक्रिय बन्दै गएको गुनासो बढ्न थालेको छ। विभिन्न स्थानमा यस्ता घटनाको श्रृंखला दोहोरिन थालेपछि सर्वसाधारणले आफ्नो घरको सुरक्षाप्रति थप चिन्ता व्यक्त गरेका छन्। स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन्। नागरिकको घर तथा सम्पत्तिको सुरक्षामा संवेदनशील बन्नुपर्ने बेला यस्ता घटनाले सुरक्षा निकायको प्रभावकारितामाथि नै प्रश्न खडा गरेको भन्दै चोरी नियन्त्रणका लागि रात्री गस्ती र निगरानी व्यवस्था थप कडा बनाउन आग्रह गरिएको छ।




















