लुम्बिनीहेडलाईनकोशीसमाचारमदेशकर्णालीसुदुर पश्चिमगण्डकीबागमती

महिलाका लागि ‘ब्लु बस’ सञ्चालनको तयारी, पहिलो चरणमा २५ बस चलाइने

प्रहार समाचार । काठमाडौँ, ६ असार २०८३ शनिबार । सरकारले महिला हरुको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्ने उद्देश्यसहित सातवटै प्रदेशमा ‘ब्लु बस’ सेवा सञ्चालनको तयारी अघि बढाएको छ। सरकारको १०० दिनको कार्यसूचीअनुसार पहिलो चरणमा कम्तीमा २५ वटा ब्लु बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यसमध्ये काठमाडौँ उपत्यकामा साझा यातायातसँगको सहकार्यमा सात वटा बस सञ्चालन गर्ने तथा उपत्यकाबाहिर सबै प्रदेशका यातायात व्यवसायी सङ्घसँग समन्वय गरी थप १८ वटा बस सञ्चालन गर्ने योजना अघि सारिएको छ। तस्बिर : एआई

 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार ब्लु बस सञ्चालनका लागि आवश्यक कार्यविधि, समय तालिका, लागत अनुमान तथा सञ्चालनको जिम्मेवारीसम्बन्धी मस्यौदा प्रस्ताव साझा यातायातबाट प्राप्त भइसकेको छ। उक्त प्रस्तावका आधारमा प्रशासनिक र प्राविधिक तयारी तीव्र बनाइएको मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकामा सेवा सञ्चालनका विभिन्न विकल्पसहितको प्रस्ताव निर्णयका लागि मन्त्रालयमा पेश गरिएको र आवश्यक प्रक्रिया अगाडि बढाइएको बताइएको छ।


सरकारले सार्वजनिक यातायातमा महिला तथा बालिकाको सुरक्षालाई प्राथमिकतामा राख्दै ब्लु बस सेवालाई क्रमशः विस्तार गर्ने योजना बनाएको छ। आगामी आर्थिक वर्षमा सातै प्रदेशमा सेवा विस्तारका लागि आवश्यक बजेट तथा कार्यक्रमसमेत प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ। सेवा सञ्चालनमा आएपछि विद्यार्थी, श्रमिक, कर्मचारी तथा दैनिक रूपमा सार्वजनिक यातायात प्रयोग गर्ने महिलाले सुरक्षित र सहज यात्राको सुविधा पाउने अपेक्षा गरिएको छ।

यसैबीच सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा तथा अपराध नियन्त्रणका लागि सिसीटिभी र ड्यासक्याम जडानलाई पनि प्राथमिकता दिइएको छ। हालसम्म साझा यातायातका १११, महागर यातायातका ४६ र पाँचपोखरी सुनौलो यातायातका तीन बसमा सिसीटिभी तथा ड्यासक्याम जडान गरी सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। अन्य सार्वजनिक सवारीमा समेत जडान विस्तारको काम जारी रहेको र ट्राफिक प्रहरीमार्फत अनुगमनको व्यवस्था मिलाइएको छ। सार्वजनिक सवारीलाई प्रविधिमैत्री, सुरक्षित र यात्रुमैत्री बनाउने मापदण्डको मस्यौदा समेत स्वीकृतिका लागि मन्त्रालयमा पठाइएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button