प्रहार समाचार । तनहुँ, ३ असार २०८३ बुधबार । तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित गजुरे स्वास्थ्य चौकीमा स्थापना गरिएको नयाँ प्रयोगशाला (ल्याब) सेवाको बुधबार औपचारिक शुभारम्भ गरिएको छ। वडा नं. ९ का अध्यक्ष सुरेश थापाले प्रयोगशालाको उद्घाटन गर्दै नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न स्थानीय तहले निरन्तर लगानी गरिरहेको बताए।

उनले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिसँगै समयमै रोग पहिचान र उपचारलाई प्रभावकारी बनाउन प्रयोगशाला सेवाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। साथै, स्वास्थ्य संस्थालाई थप सक्षम र प्रविधिमैत्री बनाउँदै नागरिकको घरदैलोमै गुणस्तरीय सेवा पुर्याउनुपर्नेमा जोड दिए। व्यास नगरपालिकाले नागरिकलाई आफ्नै स्थानीय तहमा गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रयोगशालाका आवश्यक उपकरण तथा परीक्षण किट खरिदका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।प्रयोगशाला सेवा सञ्चालनमा आएसँगै व्यास नगरपालिका–७, ९ र १० सहित आसपासका क्षेत्रका सर्वसाधारणले सामान्य तथा आधारभूत प्रयोगशाला परीक्षणका लागि टाढाका स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता हटेको छ।

अब स्थानीयवासीले आफ्नै स्वास्थ्य चौकीबाट छिटो, सहज तथा किफायती रूपमा ल्याब सेवा प्राप्त गर्न सक्ने भएका छन्।कार्यक्रममा जनस्वास्थ्य निरीक्षक खुसिराम क्षेत्री, स्वास्थ्य प्रमुख सुनिल चन तथा जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङले गजुरे स्वास्थ्य चौकीले समुदायको आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरिरहेको बताए। उनीहरूले प्रयोगशाला सेवाको विस्तारले स्थानीय नागरिकको स्वास्थ्य परीक्षणमा पहुँच बढ्नुका साथै समयमै रोगको पहिचान र उपचारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।व्यास नगरपालिकाले “नागरिकको स्वास्थ्य नै पहिलो प्राथमिकता” भन्ने अवधारणाअनुसार स्वास्थ्य पूर्वाधार सुदृढीकरण, सेवा विस्तार तथा गुणस्तर सुधारका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। स्थानीय तहबाट सञ्चालित यस्ता जनमुखी पहलले नागरिकको समय, श्रम र खर्च बचत गर्नुका साथै आधारभूत स्वास्थ्य सेवामा पहुँच थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।






















