हेडलाईनसमाचारगण्डकीविजनेसस्वास्थ्य

गण्डकी प्रदेशको बजेट : कृषि, स्वास्थ्य र वनमा जोड भए पनि बजेटको दर भने घट्दो

प्रहार समाचार । कास्की , ५ असार २०८३ शुक्रबार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कृषि, स्वास्थ्य तथा वन क्षेत्रको बजेटमा उल्लेख्य वृद्धि गरेको छ । प्रदेश सरकारको बजेट प्राथमिकता हेर्दा उत्पादन, स्वास्थ्य सेवा विस्तार तथा वन व्यवस्थापनलाई थप सुदृढ बनाउने लक्ष्यसहित सम्बन्धित मन्त्रालयहरूको बजेट बढाइएको देखिएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको बजेट निरन्तर बढ्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४१ करोड २८ लाख रुपैयाँ रहेको मन्त्रालयको बजेट आगामी आर्थिक वर्षका लागि बढाएर २ अर्ब ५ करोड ८५ लाख रुपैयाँ पुर्‍याइएको छ । कृषि उत्पादन वृद्धि, व्यवसायीकरण तथा किसान केन्द्रित कार्यक्रम विस्तारका लागि बजेट बढाइएको प्रदेश सरकारको भनाइ छ ।

स्वास्थ्य क्षेत्रको बजेट पनि उल्लेख्य रूपमा वृद्धि गरिएको छ । छुट्टै बजेट व्यवस्था गरिएयता चालु आर्थिक वर्षमा २ अर्ब ८८ करोड २० लाख रुपैयाँ रहेको स्वास्थ्य क्षेत्रको बजेट आगामी वर्ष करिब १५ प्रतिशतले बढाएर ३ अर्ब ३१ करोड २४ लाख रुपैयाँ पुर्‍याइएको छ । स्वास्थ्य सेवा पहुँच विस्तार, जनशक्ति व्यवस्थापन तथा पूर्वाधार विकासलाई केन्द्रमा राखेर बजेट वृद्धि गरिएको जनाइएको छ ।

वन मन्त्रालयतर्फ पनि बजेटमा ठूलो छलाङ देखिएको छ । चालु आर्थिक वर्षमा ८१ करोड रुपैयाँ रहेको बजेट आगामी वर्षका लागि बढाएर १ अर्ब २१ करोड ७९ लाख रुपैयाँ पुर्‍याइएको छ । गण्डकी प्रदेशको पछिल्ला तीन वर्षको बजेट प्रवृत्ति हेर्दा अधिकांश मन्त्रालयको बजेट बढ्दो क्रममा रहेको देखिन्छ । यद्यपि प्रदेश सरकारको मुख्य ध्यान भने पूर्वाधार निर्माण, ऊर्जा विकास तथा खानेपानी क्षेत्रमा केन्द्रित रहेको बजेट विवरणले स्पष्ट पारेको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button