हेडलाईनसमाचारबागमती

काभ्रेमा यात्रुवाहक बस भीरबाट खस्यो : ८ जनाको मृत्यु, १६ घाइते

प्रहार समाचार । काभ्रे, ३० जेठ २०८३ शनिबार । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन्। बनेपाबाट रोशी गाउँपालिका–६ सुघुरेतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खोँचमा खस्दा उक्त मानवीय क्षति भएको हो।

 

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीका अनुसार हिजो दिउसो भएको उक्त दुर्घटना परेको बसमा २४ जना सवार रहेका थिए। दुर्घटनामा मृत्यु हुनेमध्ये ४ महिला र ४ पुरुष रहेका छन्। मृतकमध्ये चार जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ।सनाखत हुनेमा रोशी गाउँपालिका–७ की ३४ वर्षीया फूलमाया तामाङ, रोशी गाउँपालिका–६ का ७५ वर्षीय इन्द्रबहादुर झाँक्री, सोही स्थानकी ६० वर्षीया प्यारीमाया तामाङ तथा दैलेख निवासी ३० वर्षीय बमबहादुर भण्डारी रहेका छन्। भण्डारी नेपाली सेनामा कार्यरत कर्मचारी रहेको प्रहरीले जनाएको छ।दुर्घटनामा घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ।प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान अघि बढाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा दुर्घटनाग्रस्त बस पुरानो अवस्थामा रहेको देखिएकाले प्राविधिक खराबी वा सवारीको जीर्ण अवस्थाले दुर्घटना निम्त्याएको हुन सक्ने अनुमान गरिएको प्रहरीको भनाइ छ। घटनापछि प्रहरी, स्थानीयवासी र उद्धारकर्मीको टोलीले तत्काल उद्धार कार्य सञ्चालन गरी घाइतेलाई उपचारका लागि अस्पताल पठाएको थियो।यस घटनाले पुनः एकपटक ग्रामीण सडकमा सञ्चालन हुने पुराना तथा जीर्ण सवारीसाधनको अवस्था, नियमित प्राविधिक परीक्षण र सडक सुरक्षाप्रतिको गम्भीर प्रश्न उठाएको छ। दुर्घटनाको यथार्थ कारण खुल्न विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button