हेडलाईनसमाचारगण्डकीसूचना प्रविधि

बैंकक सम्मेलनमा सांसद न्यौपाने, नेपालमा ट्रेन्चलेस प्रविधि भित्र्याउने प्रतिबद्धता

तनहुँ, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका ऊर्जा तथा जलश्रोत विभाग प्रमुख तथा तनहुँ क्षेत्र नम्बर १ का सांसद श्रीराम न्यौपाने थाइल्याण्डको बैंककमा आयोजित दुईदिने ‘ट्रेन्चलेस टेक्नोलोजी कन्फरेन्स’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका छन्। सम्मेलनमा सहभागिता जनाउन पाएकोमा गौरव महसुस भएको उल्लेख गर्दै न्यौपानेले सामाजिक सञ्जालमार्फत नेपालका पूर्वाधार तथा जलविद्युत् विकासका लागि ट्रेन्चलेस प्रविधि अत्यन्त उपयोगी बन्न सक्ने बताएका छन्।

 

नेपालको भूगोल ६० मिटर उचाइको तराईदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथासम्म फैलिएको उल्लेख गर्दै उनले यस्तो विविध भौगोलिक अवस्थाले शहरी पूर्वाधार निर्माण र जलविद्युत् विकासमा चुनौतीसँगै अवसर पनि सिर्जना गरेको बताए। करिब एक लाख मेगावाट जलविद्युत् उत्पादनको सम्भावना रहेको नेपालमा हजारौँ किलोमिटर सुरुङ, भूमिगत ढल तथा नाला, विद्युत् प्रसारण लाइन र खानेपानी पाइपलाइन निर्माणको आवश्यकता रहेको भन्दै उनले ट्रेन्चलेस प्रविधि दिगो, वातावरणमैत्री, सुरक्षित र प्रभावकारी विकल्पका रूपमा स्थापित हुन सक्ने धारणा राखेका छन्।

सांसद न्यौपानेले अन्तर्राष्ट्रिय स्तरमा विकास भएका नवीन प्रविधि, अनुभव र ज्ञान नेपाल भित्र्याउन आवश्यक रहेको औँल्याउँदै ट्रेन्चलेस टेक्नोलोजीको प्रयोगमार्फत पूर्वाधार विकासलाई गति दिन सकिने विश्वास व्यक्त गरेका छन्।

उनले यस प्रविधिले वातावरणीय क्षति न्यून गर्दै लागत र समय बचतका साथ आधुनिक पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। नेपालको दिगो विकास र आधुनिक पूर्वाधार निर्माणमा ट्रेन्चलेस प्रविधि प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button