प्रहार समाचार । तनहुँ, दमौली, २६ जेठ २०८३ मंगलबार । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तर्जुमालाई थप प्रभावकारी, समावेशी र जनमुखी बनाउने उद्देश्यले ऋषिङ्ग गाउँपालिकाले सरोकारवालाहरूसँग राय सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न क्षेत्रका सरोकारवाला तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले स्थानीय आवश्यकताअनुसार विकास योजना छनोट, सुशासन, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा रोजगारी प्रवर्द्धनलाई आगामी नीति तथा कार्यक्रमको मुख्य प्राथमिकतामा राखिने बताउँदै जनताको सुझावलाई नीति निर्माणको आधार बनाइनेमा जोड दिए।

उपाध्यक्ष गिनुमाया थापा मगरले स्थानीय तहको विकासमा नागरिक सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै प्राप्त सुझावहरूलाई समेटेर व्यवहारिक र परिणाममुखी कार्यक्रम तर्जुमा गरिने बताइन्। कार्यक्रममा सहभागीहरूले कृषि उत्पादन वृद्धि, युवालाई स्वरोजगारसँग जोड्ने योजना, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार, सडक तथा खानेपानी पूर्वाधार विस्तारलगायत विषयमा रचनात्मक सुझाव प्रस्तुत गरेका थिए।

सहभागीहरूको सक्रिय उपस्थिति र महत्वपूर्ण सुझावप्रति गाउँपालिकाले आभार व्यक्त गरेको छ। यसैबीच, सोही अवसरमा कक्षा १० (एसईई) परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने एक दर्जनभन्दा बढी विद्यार्थीलाई सम्मान गरिएको थियो। सम्मानित विद्यार्थीहरूलाई प्रमाणपत्र तथा सम्मानसहित उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको गाउँपालिकाले जनाएको छ।

आगामी दिनमा पनि शिक्षा, प्रतिभा प्रोत्साहन तथा समुदायको समग्र विकाससँग सम्बन्धित यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिइने प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाइले जानकारी दिए।




















