प्रहार समाचार । काठमाडौं, २६ जेठ २०८३ मंगलबार । नेपाल सरकारले २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न नपाइने व्यवस्था गर्दै नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको छ। गृह मन्त्रालयमार्फत प्रकाशित सूचनाअनुसार आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै सरकारले उक्त सेवामा हडताल निषेध गर्ने आदेश जारी गरेको हो ।




हेरौं अत्यावश्यक सेवाको सूचीहरु :
१. डाँक, तार वा टेलिफोन सेवा
२. जल, स्थल वा हवाईमार्गबाट यात्री तथा मालसामान ओसारपसार गर्ने यातायात सेवा
३. हवाई अड्डा वा हवाईजहाजको सञ्चालन, मर्मत तथा देखभालसम्बन्धी सेवा
४. हवाई ग्राउण्ड, रेल्वे स्टेशन वा सरकारी गोदाममा मालसामान राख्ने, झिक्ने तथा ओसारपसार गर्ने सेवा
५. प्रिन्ट तथा सरकारी छापाखाना सम्बन्धी सेवा
६. हातहतियार, खरखजाना तथा सैनिक सामग्री उत्पादन, भण्डारण र वितरणसम्बन्धी सेवा
७. सञ्चार सेवा
८. आन्तरिक सुरक्षा सम्बन्धी सेवा
९. खानेपानी सञ्चालन तथा वितरण सेवा
१०. पर्यटन आवास, मोटेल, होटल, रेष्टुराँ तथा रिसोर्ट सम्बन्धी सेवा
११. पेट्रोलियम पदार्थ (एलपी ग्याससहित) को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सेवा
१२. अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा (एम्बुलेन्स सेवासहित)
१३. औषधि उत्पादन तथा बिक्री–वितरण सेवा
१४. फोहोरमैला सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन तथा व्यवस्थापनसम्बन्धी सेवा
१५. बैंकिङ सेवा
१६. बिमा सेवा
१७. विद्युत सेवा
१८. दैनिक उपभोग्य वस्तु (खाद्यान्न, दाल, चामल, नुन, तेल आदि) को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सेवा
१९. मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा
२०. मास्क सम्बन्धी सेवा
२१. ह्याण्ड सेनिटाइजर सम्बन्धी सेवा
२२. भेटेरिनरी (पशु स्वास्थ्य) सेवा
२३. कन्सुलर विभागबाट प्रदान हुने सेवा
२४. राहदानी विभागबाट प्रदान हुने सेवा
२५. इन्टरनेट सेवा




















